Thursday, June 19, 2014

जलविद्युतका लागि साउदीले दुई अर्ब ८५ करोड ऋण दिने

काठमाडौं : साउदी फन्ड फर डेभलपमेन्ट (एसएफडी)ले बूढीगंगा जलबिद्युत आयोजनाका लागि दुई अर्ब ८५ करोड रुपैयाँ बराबरको ऋण सहयोग उपलब्ध गराएको छ।

यस विषयमा अर्थमन्त्रालयमा बुधबार भएको सम्झौतमा अर्थसचिव युवराज भुषाल र एसएफडीको तर्फबाट उपाध्यक्ष तथा प्रवन्ध निर्देशक युसुफ विन इब्राहिम अलबासामले हस्ताक्षर गरेका छन्।

अछामस्थित २० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको ऋण सम्झौतामा हस्ताक्षर गर्न युसुफ विन इब्राहिम अलबासामको नेतृत्वमा आएको टोलीले अर्थमन्त्री डा. रामशरण महतलाई बुधबार नै भेटेको हो। त्यस अवसरमा अर्थमन्त्री महतले बितेको डेढ दशक नेपालका लागि कठिन समयका रूपमा रहेको तर अहिले स्थिति सामान्य बन्दै गएकाले सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराए। भौगोलिक बनावटका कारण नेपालको विकास निर्माण चुनौतीपूर्ण रहेको बताउँदै उनले आगामी दिनमा विकासले तीव्ररूपमा फड्को मार्ने विश्वास पनि प्रकट गरे।

विगतमा साउदी अरेबियाले उपलब्ध गराएको सहयोगको सराहना गर्दै महतले आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

महतले नेपालको अवस्था सुध्रिँदै जाँदा सहयोगमा पनि वृद्धि हुने बताए। 'विश्व ब्यांंकको रेटिङअनुसार नेपालले आगामी वर्ष करिब ३० अर्ब रुपैयाँबराबरको सहायता पाउने भएको छ', उनले भने, 'यसैगरी आईएफसीले पनि नेपालको जलविद्युत् आयोजनाको विकासमा ठूलो लगानीसहितको सहभागिता जनाउँदैछ।' उनका अनुसार युरोपियन इन्भेस्टमेन्ट ब्यांकले पनि जलविद्युत् आयोजनामा लगानी गर्दैछ।

चीनले अघि सारेको एसियाली पूर्वाधार लगानी ब्यांकको संस्थापक बन्न नेपाललाई प्रस्ताव गरेको छ र यसले पनि नेपालले प्राप्त गर्ने सहयोगमा थप ढोका खुल्दैछ। नेपालले चीनले अघि सारेको एसियाली पूर्वाधार लगानी ब्यांंकको संस्थापक बन्न चाँडै निर्णय गर्ने जानकारी महतले दिए।

सोही अवसरमा एसएफडीका उपाध्यक्ष तथा प्रबन्धनिर्देशक युसुफ विन इब्राहिम अलबासामले नेपालसँगको सम्बन्ध विस्तार गर्न दूतावास नै खोल्न लागिएको जानकारी दिए। साउदी अरबले नेपालमा जलविद्युत्, सिँचाइका अतिरिक्त शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्न सकिने जानकारी दिएको छ।

अछामस्थित बूढीगंगा जलविद्युत् आयोजनाको निर्माणले स्थानीय स्तरमा रोजगारी सिर्जना, ग्रामीण विद्युतीकरण, क्षेत्रीय असमानता घटाउने तथा स्थानीय स्तरमा आर्थिक क्रियाकलाप विस्तार हुने अपेक्षा गरिएको छ। बूढीगंगा जलविद्युत् आयोजनाका लागि कुवेत फन्डले गत वर्ष नै करिब एक अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने सम्झौता गरिसकेको छ। जलविद्युत् आयोजनाका लागि थप सहयोग जुटाउने योजनाअनुरूप एसएफडीको सहयोगका लागि आग्रह गरिएको थियो।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment