वर्षौंदेखि हामीले सिकेका ज्ञान, सिप, कला अनि इतिहासका घटना भण्डारण गरेर राख्छ यसले अनि आवश्यक परेको बेलामा हामी जानी—नजानी प्रयोग गरिरहेका हुन्छौं ती संग्रहित अनुभवहरु जसले हाम्रो जीवन चलाइरहेको हुन्छ।
मस्तिष्कमा रहेका अनेकौं अवयवहरु चलायमान रहन्छन् हाम्रा दैनिक क्रियाकलापहरु निर्विघ्न सञ्चालन गर्न। बिहान उठेर शौचालय जाने, दाँत माझ्ने, चिया पकाएर खानेजस्ता साधारण कार्यहरु हुन् या कार्यालयमा गरिने—गराइने प्रशासनिक कामहरु हुन्, कुनै मित्रको ‘जन्मदिन’ सम्झेर उसलाई शुभकामना दिँदा होस् या ३—४ महिना पूरा मिहिनेत गरेर परीक्षामा बस्दा होस् अथवा मोटर हाँक्ने, नृत्य गर्ने, कविता कोर्ने आदि क्रिया। सामान्यदेखि लिएर कठीन÷असाधारण काम गर्न मस्तिष्कका अवयवहरु निरन्तर स्वस्थरुपमा क्रियाशील रहिरहनुपर्छ।
प्रौढावस्थामा ‘डिमेन्सिया’
कुनै घटना या पात्र सम्झने, व्यक्ति—ठाउँहरु चिन्ने, अरुले बोलेका भाषा बुझेर उचित जवाफ फर्काउने अनि कुनै पनि कार्यलाई सिलसिलाबद्ध रुपमा गर्न सक्ने क्षमता— यी चार मस्तिष्कका प्रमुख जिम्मेवारीहरु हुन् जसले माथि उल्लेखित कार्यहरु संचालन गर्न मद्दत गर्छ।
कुनै पनि ज्ञात—अज्ञात कारणले गर्दा मस्तिष्कले यी जिम्मेवारी पूरा गर्न नसकेमा मानिसले उपरोक्त क्रियाकलापहरु सुचारु रुपमा गर्न सक्दैन, शनैः शनैः ऊ आफ्नो स्वतन्त्र जीवनबाट पर, आफ्ना दैनिक क्रियाकलापका लागि पनि अरु कसैमा आश्रित हुनपुग्छ। केही पुराना घटनाहरु सम्झे पनि नयाँ सिकेका ज्ञान—सिप अनि भर्खर—भर्खरका घटनाहरु बिर्सन पुग्छ। ठाउँहरु—मानिसहरु चिन्न सक्दैन, सवाल—जवाफ गर्न सक्दैन। अन्ततः शरीरका बाहिरी अंगहरु चुस्त—दुरुस्त हुँदाहुँदै पनि ऊ असहाय—निर्बल हुनपुग्छ। यी लक्षणहरु अहिलेको विश्वको नयाँ चुनौतीको रुपमा रहेको ‘डिमेन्सिया’ नामक रोगको हो।
पहिले—पहिले वृद्धावस्थामा देखापर्ने ‘बिर्सने रोग’का रुपमा तिरस्कृत अनि अपहेलित थियो होला ‘डिमेन्सिया।’ क्षणिक रुपमा बिर्सने त सामान्य ‘अत्यास’ या अन्य कुनै मनोवैज्ञानिक कारणहरुले पनि हुनसक्ला। ‘डिप्रेसन’मै पनि विस्मृतिका लक्षणहरु देखा नपर्ने होइनन्, त्यस्तै मद्यपान या अन्य लागू पदार्थ दुर्व्यसनीहरुमा, टाउकोमा चोट लागेका बिरामीहरुमा अनि उमेरको वृद्धि सँगसँगै मस्तिष्कमा आउने संकुचनले पनि स्मरण शक्तिमा कमी आउन सक्दछ। तर ‘डिमेन्सिया’मा विस्मृति मात्र हुँदैन, माथि वर्णन गरिएका झैं मस्तिष्कका अरु कार्यहरुमा पनि अवरोध आउन पुग्छ र मानिस ओछ्यानै पर्ने अनि सामाजिक रुपले अपांगैसरह व्यवहार गर्न थाल्छ। यहाँ उल्लेखित लक्षणहरु प्रमुखतः ‘अल्जाइमर डिमेन्सिया’का हुन् जो सबैभन्दा बढी देखिने गर्छ।
हुन त अनुवंशिकता, मस्तिष्कमा देखा पर्ने रासायनिक एवं संरचनात्मक परिवर्तनहरु आदि यसका कारकतत्वका रुपमा मानिएका छन् तर धेरै कुरामा हामी अझै अनभिज्ञ छौं। अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगन जस्ता प्रख्यात व्यक्तिसमेत यसैको सिकार भएर बिना उपचार मृत्युवरण गर्न पुगेको हामीले पढेका नै छौं।
अन्तर्राष्ट्रियस्तरमा भएका शोध—अनुसन्धानहरुले यो रोग पहिले भनेजस्तो ६०—६५ वर्ष काटेकामा मात्र नभई त्यो भन्दा कम उमेरकामा पनि हुनसक्ने देखाइसकेको छ। ‘डिमेन्सिया रिसर्च ग्रुप’ नामक एक
विश्वव्यापी संस्थाले न्यून एवं मध्यमस्तर आयः भएका विकासशील देशहरुमा ‘वृद्धावस्था, डिमेन्सिया र नसर्ने रोगहरुबीचको सम्बन्ध’ को बारेमा शोधकार्य गर्दा ती देशहरुका दुईतिहाइ (६६ प्रतिशत) जनसंख्यामा ‘डिमेन्सिया’ या अन्य स्मृतिजन्य समस्याहरु भएको तर मात्र १० प्रतिशतमा यसको विस्तृत अध्ययन भएको पाइयो। अहिले आएर ‘१०—६६ स्टडी’ का रुपमा उक्त अनुसन्धान कार्य प्रसिद्ध छ। त्यसकारण, यो रोग हाम्रो समाजमा पनि लुप्त अवस्थामा रहेको हुनसक्ने अनुमान लगाउन सकिन्छ।
हामीसँग उपलब्ध तथ्यांकहरु गहिरिएर हेर्दा, हाम्रो मनोचिकित्सा क्लिनिकमा पनि ‘अल्जाइमर डिमेन्सिया’का रोगीहरुको पहिचान हुने क्रम बढ्दो छ। तिनका परिवारजन भने यसको दूरगामी प्रभावका कारण चिन्तित छन्, भयभीत छन्। परिवारका प्रमुख व्यक्ति यस्तो रोगबाट थलिएर बस्दा अन्य सदस्यहरुमा कस्तो प्रभाव पर्छ होला? अनुमान गर्न त्यत्ति सजिलो छैन। परिवारको व्यावहारिक, आर्थिक, सामाजिक क्षेत्रमा मात्र नभई दैनिकी संचालनमा समेत यसको गहिरो प्रभाव रहन्छ। त्यसैले यसको शीघ्र पहिचान गर्नु आवश्यक छ। अतः ५० वर्ष काटिसकेको कुनै पनि व्यक्तिमा ‘विस्मृति’ या माथि अभिव्यक्त कुनै पनि लक्षण देखिएमा यसलाई हलुका रुपमा नलिई चिकित्सककहाँ परीक्षण गराइहाल्नुपर्छ। ओपिडीमा नै गर्न सकिने साधारण परीक्षणद्वारा नै ‘डिमेन्सिया’को प्रारम्भिक अवस्थाको पहिचान गरेर अरु बिस्तृत अनुसन्धानतिर लाग्न सकिन्छ। कुनै—कुनै शारीरिक रोगहरु, जस्तैः थाइराइड हर्मोनको कमी, बी—१२÷फोलिक एसिड जस्ता भिटामीनको कमी, अनि ‘डिप्रेसन’जस्ता मानसिक रोगहरुमा पनि यस्ता लक्षणहरु देखापर्ने भएकोले त्यसको निदान—उपचार गर्न संभव छ। अनि सामान्य ‘विस्मृति’मात्र भएका ‘माइल्ड कग्निटिभ इम्प्यार्मेण्ट’का रोगीका लक्षणहरुलाई अन्य उपचार—विधिबाट पनि सामान्यीकरण गर्न सकिन्छ।
त्यस्तै, ‘डिमेन्सिया’को पहिचान पाएर उपचाररत बिरामीका आफन्तजन पनि धेरै चिन्तित/उद्वेलित नभई बिरामीको सेवासुश्रुषा, घाउ÷चोटपटकबाट सुरक्षा अनि अन्य रोगहरु भएमा त्यसको उपचारमा हरदम लागिरहनुपर्दछ। ती रोगीहरुमा अन्य मानसिक रोगहरुका लक्षण पनि देखा पर्न सक्छन्, तिनमा ‘डिप्रेसन’हुने संभावना बढी हुन्छ। त्यस्तै, बेला बेलामा मस्तिष्कका रसायनहरुको आरोह—अवरोह अनि वातावरणीय प्रभावले ती रोगीहरु चिच्याउने, कराउने, धेरै चलमल गर्ने, सकी—नसकी उठ्ने—हिंड्ने कोशिश गर्ने, रिसाउने आदि गर्न सक्दछन् र तिनको निद्रा, भोक, श्वास—प्रश्वास, पाचन—निष्कासन आदि प्रक्रियामा अवरोध आउन सक्छ, त्यस्तो बेलामा परिवारजनले बढी ख्याल पुर्याउनुपर्छ।
बिरामीले नयाँ कुरा सिक्न नसक्ने भएको हुँदा तिनलाई नयाँ सामाजिक परिवेशमा लैजाने, धेरै कुरा सोध्ने, झ्याँगल—झुँगल पार्ने गरेमा अझै नकारात्मक प्रभाव पर्न सक्छ। त्यसैले पूर्वपरिचित एक—दुई जनाले मात्र तिनीहरुको हेरचाहको जिम्मेवारी लिँदा राम्रो हुन्छ। तिनले सम्हाल्दै आएका व्यावहारिक,आर्थिक, सामाजिक अनि पारिवारिक जिम्मेवारीहरु कसरी अरुलाई हस्तान्तरण गर्ने भन्ने पनि उपचारको महत्वपूर्ण पक्ष हो। त्यस्तै बिरामीका आफन्तमा आइपर्नसक्ने मनोवैज्ञानिक समस्याबारे पनि मनोचिकिसकहरुसँग सल्लाह—परामर्श लिनुपर्ने हुन्छ।
हुन त ‘डिमेन्सिया’को पहिचान भइसकेपछि पनि स्मृतिमा विशेष प्रभाव पार्ने मस्तिष्कको ‘एसिटाइलकोलिन’नामक न्यूरोट्रान्स्मिटर रसायनको मात्रामा यथोचित संतुलन कायम राखिराख्नका लागि केही औषधिहरु प्रयोग गर्ने गरिन्छ, कोही कोही चिकित्सकहरु स्मृति शक्ति बढाउने रसायनहरुको पनि प्रयोग गर्छन्, तर तिनको यथार्थ उपलब्धिका बारेमा गरिएका अध्ययनहरुले ठोस नतिजा देखाएका छैनन्। त्यस्तै, ‘स्टेम सेल ट्रान्स्प्लाण्ट’ जस्ता अत्याधुनिक पद्धतिबारे पनि शोधकार्यहरु भइरहेका छन् तर आशातीत प्रगति हात लागिसकेको छैन।
आशा गरौं, भविष्यमा कुनै मानव मस्तिष्कले यसको सर्वसुलभ उपचारको आविष्कार गरिहाल्छ कि ?
किशोरावस्थमा ‘छोप्ने व्यथा’
कहिलेकाहिँ ओपिडीमा ल्याइएका बिरामीहरुको बारेमा तिनका अभिभावक भन्ने गर्छन्, ‘यसलाई ‘छोप्ने व्यथा’लागेको छ डाक्टरसाब! कत्ति धामीझाँक्री लगाइयो, हुँदै भएन। अब हजुरले नै केही गर्न सक्नुहुन्छ कि भनेर ल्याएको।’ प्रायः जसो स्कुले किशोरीहरु हुन्छन् त्यसरी ल्याइएका। कोही कोही स्कूलकै पोशाकमा ल्याइन्छन्, ‘कक्षामा नै छोप्यो’ भनेर। कहिले भने विवाहित युवतीहरु हुन्छन्।
‘छोप्नु’ अर्थात् ‘बेहोस हुनु’, ‘अर्धचेत अवस्थामा अप्रासंगिक कुराहरु बोल्नु’ या ‘शरीरका अंगहरु अनजानमा नै चलाउनु’, कहिलेकाहीं त ‘आँखा अगाडि कालो छायाँ आयो, छोप्यो, घाँटी अठ्यायो, थिच्यो’ भनेर पनि बिरामीहरु बताउँछन्। जनजिभ्रोमा प्रचलित ‘छोपुवा रोग’ का यस्तै—यस्तै विभिन्न लक्षणहरु पाइन्छन्। वास्तवमा यस्ता लक्षणहरु ‘छारे रोग’मा पनि देखिने भएको हुँदा यसको राम्ररी परीक्षण गर्नुपर्ने हुन्छ। पहिले पहिले ‘हिस्टेरिया’ भनेर ‘किशोरी÷युवतीहरुमा हुने यौन असन्तुष्टि या कुण्ठाको परिणाम’का रुपमा व्याख्या गरिएका यस्ता लक्षणहरु अचेल मानसिक रोगको प्रकारका रुपमा ‘डिसोसिएटिभ या कन्भर्सन डिसअर्डर’ भनी वर्गीकृत गरिएका छन्।
जनमानसमा (पढेलेखेका चेतनशील समाजमा समेत) अझै पनि यो ‘छोप्ने व्यथा’ कूलदेवता बिग्रनाले, बोक्सी लागेर या कसैले टुनामुना गर्नाले हुने रोग हो, डाक्टरी औषधिले यसलाई ठीक पार्न सक्दैन, त्यसैले धामी झाँक्रीहरुबाट बोक्सी पन्छाएर, पशुबलि दिएर या पूजा गरेर मात्र यो निको हुन्छ भन्ने मान्यता रहेको पाइन्छ। त्यस्तै किशोरीहरुमा धेरै देखिने यी लक्षणहरु विवाह गरिदिएमा आफै ठीक भएर जान्छन् भन्ने धारणाले गर्दा केटीहरुको चाँडै विवाह गरिदिने नराम्रो चलन पनि छ हाम्रो समाजमा।
‘छोप्ने रोग’का लक्षणहरु माथि भनिएझैं छारे रोग या मिर्गीका कारण पनि हुनसक्छ, अतः नशारोग विशेषज्ञको परामर्शअनुसार परीक्षण विधिहरु प्रयोग गरी यसको जाँचपड्ताल गरेर रोग पहिचानपश्चात् नियमित ओखती सेवन गरेमा यस्ता लक्षणहरुमा कमी आएर बिरामी स्वस्थ बन्न सक्दछ।
‘छोप्ने रोग’ मुख्यतया एक विशेष प्रकारको मानसिक रोग हो। मनोवैज्ञानिक अध्ययन गर्दा, बिरामीहरुमा अव्यक्त रुपमा रहेका कुण्ठा, चिन्ता या डरहरु कुनै घटनाविशेष या परिवेशका कारण बाहिर अभिव्यक्त भइदिंदा उपरोक्त लक्षणहरु देखिने गर्दछन्। पारिवारिक या सामाजिक तनाव, अध्ययन या कामको बोझ, किशोरीहरुमा क्रमशः विकसित भईरहेका शारीरिक परिवर्तनहरु (यौन अंगहरुको वृद्धिविकास, हर्मोनहरुमा हुने उतारचढाव, महिनावारीको शुरुवात ) आदि सबै कारकतत्वहरु यससँग सम्बन्धित हुनसक्छन्। हालसालैका नयाँ अध्ययनहरुले त मस्तिष्कका केही अवयवहरुमा हुने परिवर्तनसमेत यसका लागि जिम्मेवार ठानेका छन्। मनोवैज्ञानिक शोधहरुले प्रमाणित नै गरेका छन् कि, जुन कुरा व्यक्तिले मौखिक एवं स्पष्टरुपमा बाहिर प्रकट गर्न सकिरहेका हुँदैनन् या व्यक्त गर्न पाउँदैनन्, ती सब लाक्षणिक रुपमा यो रोगमा देखा पर्दछन्। ती लक्षणहरुको मनोवैज्ञानिक विश्लेषण गर्न सक्नेहरुले मात्र त्यसको उचित उपचार गर्न सक्दछन्।
संचारमाध्यममा समाचारका रुपमा आउने, ‘एउटै स्कुलका थुप्रै छात्राहरुमा अनौठो रोग देखापर्नाले स्कुल नै बन्द हुन पुगेको’ जस्ता घटनाहरुको विश्लेषण गर्दा पनि यी कुराहरु नै प्रमाणित हुन्छन्। ‘मास हिस्टेरिा’का रुपमा प्रख्यात यो रोग प्रायः एउटै उमेर समूहका किशोरीहरुमा एकबाट अर्कोमा सरेर गएको झैं देखिन्छ। यस रोगको अझ उल्लेखनीय पक्ष के हो भने, एकैप्रकारको तनावमा रहेकाहरुमा अनजानमै ‘नक्कल गर्ने प्रवृत्ति’रहन्छ, त्यसैले एउटै कक्षाका या एउटै स्कुलमा (समान वातावरणमा) धेरै जनालाई एकै पटक उस्तै प्रकृतिका लक्षणहरु देखा पर्छन्।
यस्ता बिरामीहरुलाई धामीझाँक्रीकहाँ लग्दा बिरामीको रोगको सही पहिचान अनि उपचार हुननसक्ने मात्र नभई अन्धविश्वासको मात्रामा वृद्धि हुनुका साथै पशुबलिजस्तो जघन्य कृत्य गर्न उद्यत हुनुपर्ने अनि परिवारमा अझ बढी आर्थिक संकट पर्न आउने देखिन्छ। असभ्य समाजमा झैं ‘बोक्सी—प्रथा’कायम रहिरहँदा विशेषतः महिलाले भोग्नुपरेको अपमान, तिरस्कार र हिंसाका प्रहारका बारेमा थुप्रैपटक संचारमाध्यममा खबर आइसकेका नै छन्।
अतः ‘छोप्ने व्यथा’लाई हलुका रुपमा नलिई यसको उचित परीक्षण गराई मनोचिकित्सकको परामर्श अनुसार उपचार गरेमा बिरामीको अवस्थामा सुधार आई तिनको सुन्दर भविष्यको अपेक्षा गर्न सकिन्छ।
(setopati बाट साभार रिसाल धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ हुन्।)








0 comments:
Post a Comment