स्टिकर हटाएकोबारे जानकारी दिन अध्यागमन विभागले बुधबार अपरान्ह अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई विभागमा बोलाएको थियो। नयाँ व्यवस्था देशभरका आठवटै अध्यागमन कार्यालयमा लागू भएको छ। विभागले छापको दुरुपयोग नहोस् भनेर आगमन र गमनका दुई छुट्टाछुट्टै छाप बनाएको छ। अब राहदानीमा टाँसिने स्टिकरको सट्टा आगमन र गमनको छापमात्र हुनेछ।
यसअघि राहदानीमा पहिले स्टिकर टाँस्ने र त्यसमाथि आगमन वा गमनको छाप लगाइन्थ्यो।
अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेलले गृह मन्त्रालयले कार्यविधि नै परिवर्तन गरेर स्टिक र हटाएको बताए। उनले छापमात्र लगाउने विधि वैज्ञानिक र सजिलो भएको पनि बताए। उनले भने, 'यो विधि लागू भएपछि झन्डै ५० प्रतिशत कामको बोझ घटेको छ।'
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हिमनाथ दवाडीले बिहीबारबाटै स्टिकरको सट्टा आगमन र गमन छाप प्रयोगमा ल्याइएको बताए।
छापको दुरुपयोग रोक्न प्रत्येक अध्यागमन डेस्कमा बस्ने अधिकृतलाई बेग्लाबेग्लै छाप दिइएको छ।
अध्यागमन अधिकृतले आफ्नो ड्युटी सकेपछि छाप आफैंले राख्नु पर्नेछ। छापको साथमा अध्यागमन अधिकृतहरूलाई बेग्लाबेग्लै कोडसमेत दिइएको छ। कुनै छाप दुरुपयोग भयो भने कर्मचारीलाई दिएको कोड र छापका आधारमा कसले बदमासी गर्यो भन्ने थाहा पाउन सकिन्छ। नेपाल आउने यात्रुका लागि चारकुने र नेपालबाट बाहिरिनेका लागि गोलो आकारको छाप बनाइएको छ।








0 comments:
Post a Comment