Thursday, June 12, 2014

एन्फा का अध्यक्ष गणेश थापाको कालो कर्तुत

काठमाडौं, जेठ २९ – आजदेखि शुरु हुने विश्वकप फुटबल हेर्न विश्वको ध्यान ब्राजिलतिर गएको छ भने यता अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाको अन्तरराष्ट्रिय आर्थिक अनियमितता काण्डले छुट्टै चर्चा पाएको छ ।
एशियाली फुटबल महासंघका पूर्व अध्यक्ष मोहम्मद विम हमामले अध्यक्ष थापाका छोरा गौरब थापाको खातामा पठाएको रकमको काण्ड सेलाउन नपाउँदै उही हमाम सन् २०२२ मा हुने विश्वकपको आयोजकमा कतारलाई जिताउन डेड करोड रुपैँया घुस लिएको आरोप बाहिर आएको छ ।

पहिलो पटक यो कण्डको खुलासा बेलायतबाट प्रकाशित हुने ‘सन्डे टाइम्स’ले गरेका थिए । कतारलाई आयोजक बनाउन विभिन्न सरोकारवाला संघ संस्थालाई रकम बाँडेको बारेमा छानबिन शुरु हुनुभन्दा एक दिन अगाडि सन्डे टाइम्सले यो समाचार बाहिर ल्याएपछि यतिबेला यो समाचारले विश्वको ध्यानाकर्षण गराएको छ भने यसको असर नेपाललाई नपर्ने कुरै आउँदैन । सो घुस काण्डमा एन्फाका अध्यक्ष गणेश थापाको नाम जोडिएर आएपछि अख्तियार दुरुपयोग आयोगले छानबिन प्रकृया अगाडि बढाएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार आयोगले अध्यक्ष थापाको बारेमा छानबिन गर्न मन्त्रालयलाई पत्र पनि पठाएको छ । सो मन्त्रालयका मन्त्री पुरुषोत्तम पौडेलले भने, ‘आयोगबाट पत्र आएको छ । गणेश थापाजी बाहिर हुनुहुन्छ । उहाँ आउने वित्तिकै त्यस विषयमा छानविन गरिनेछ ।’ उनले यो घटनाले नेपालको खेलजगतको प्रतिष्ठामा आँच आएको बताउँदै मन्त्रालयले यसलाई गम्भिर रुपमा लिएको बताए । सोही मन्त्रालयका सचिव प्रताप कुमार पाठकले यस विषयमा आफूलाई केहि पनि थाहा नभएको बताउँदै मन्त्री पौडेल चीनबाट फर्केपछि यसको बारेमा छानबिन गरिने बताए । बेलायती पत्रिकार सन्डे टाइम्सका अनुसार हमामले २०१० को मार्च र अगस्तमा सो रकम उपलब्ध गराएका हुन् । हमाम निकट मानिएका अध्यक्ष थापाले फुटबल प्रयोजनका लागि सो रकम नलिएको प्रतिकृया सन्डेटाइम्सलाई दिएको छ । १९ वर्षदेखि एन्फाको नेतृत्वमा रहेका अध्यक्ष थापाको बारेमा कसैले केही बोल्न मान्दैन ।

चाहे त्यो एन्फाका पदाधिकारी होस् वा खेलकुद पत्रकार नै किन नहोस् । एन्फाका एक पदाधिकारीले भने, हाम्रो संस्थामा अन्तराष्ट्रिय लेनदेन के के हुन्छन् । हामीलाई केही थाह हुँदैन । कहाँबाट कति रकम आउँछ कति रकम कहाँ कहाँ जान्छन् थापाबाहेक अरु कसैलाई थाहा हुँदैन ।’ यसअघि पनि दुई पटक उनको बारेमा आर्थिक घोटलाको बारेमा कुरा बाहिर आएको थियो तर कसैले केही गर्न सकेन, एक खेलाडीले भने, त्यसको एउटै कारण हो, थापा जहिले पनि शाक्ति केन्द्रको नजिक भएर काम गर्ने गर्दछन् ।

चाहे एमाओवादीको सरकार होस् वा एमाले वा काँग्रेसकै किन नहोस् सबैसँग निकट रहेर काम गरेका कारण जे गरेपनि हुने गरी अनियमितता गरिरहेका छन् र सरकार टुलुटुलु हेरिरहेका छन् तर यस पटक अख्तियार दुरुपयोग आयोगले आफै चासो लिएको छ पक्कै केही न केही हुन्छ, खेलाडीले भने । दुई वर्ष अगाडि हमामले गौरव थापाको खातामा रकम जम्मा गरेको समाचार बाहिर आएपछि थापा विवादमा तानिएपछि त्यो घटना त्यतिकै सेलाएको थियो ।

अध्यक्ष थापाले आफू घरायसी प्रयोजनका लागि २००९ जुलाई ९ मा रकम सापटी लिएको र २०११ सम्ममा चुक्ता पनि गरेको प्रतिकृया दिएका थिए । तर, त्यत्रो रकम कुन स्रोतबाट र के माध्यमबाट रकम चुक्ता गरेको जवाफ माग्द उनी नजावाफ भएका छन् । विदेशबाट आएको रकम पक्कै पनि डलरमा आएको होला अथार्त डलरमा कारोबार भएको होला । विदेशी विनिमय ऐनअनुसार राष्ट्र बैंकको स्वीकृति नलिई कुनैपनि नेपालीले विदेशी मुद्रामा कारोबार गर्न पाउँदैन ।

ऐनले अनुमतिबिना स्वदेशबाहिर विदेशी मुद्रा लैजान रोक लगाएको छ । तर अध्यक्ष थापाले भन्छन्, मैले हमामबाट लिएको ऋण चुक्ता गरेको छु, ।’ यदि विदेश रकम पठाएको हो भने राष्ट्र बैंकबाट अनुमति लिएर पठाएको होला वा जुन बैकबाट पठाएका छन् त्यस बैंकको बैंक स्टेटमेन्ट पक्कै होला तर थापाले बैंक स्टेटमेन्ट देखाउन पनि मानिरहेका छैनन् । उनको तेस्रो ठुलो अन्तराष्ट्रिय आर्थिक काण्ड भनेको गत वर्ष टिकट बेचेको भन्दै एन्फाको नाममा अचानक आठ करोड रुपैँया आउँदा अध्यक्ष थापा विवादमा परेका थिए । त्यस्तै दुईवर्ष अघि पनि एएफसीको लेखापरीक्षण प्रतिवेदनमा सन् २०११ को जनवरीमा ११ मा हवाईजहाजको टिकट किन्ने भन्दै चारहजार ३६६ डलर कुम्ल्याएका थिए ।
साभार स्रोतः रातोपाटी डटकम http://www.ratopati.com/2014/06/12/136578.html

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment