भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणा समारोहमा भएर आएका उनी खराब मौसमका कारण काठमाडौंमै रोकिएका थिए। बसाइको सदुपयोग गर्न तोब्गे बौद्धनाथ र पशुपतिनाथ जाने विचार गरे। पशुपतिको मूल गेटको सूचनाले भुटानी प्रधानमन्त्रीलाई झस्कायो।
त्यहाँ हिन्दूहरुलाई मात्र प्रवेश भनेर लेखिएको थियो। आफू बौद्धिस्ट भएको भन्दै उनी पशुपतिनाथको बाहिर गेटबाटै फर्किन लागे।
'बौद्ध र हिन्दु धर्म उस्तै हो दर्शन गर्न मिल्छ,' पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले सजिलो पारिदिए। प्रधानमन्त्री तोब्गे एकछिन अकमक्क परे। टण्डनले फेरि त्यही तर्क दोहोर्याएपछि भुटानी प्रधानमन्त्री भित्र छिरे।
खासमा पशुपतिमा गैरहिन्दुलाई प्रवेश रोक छ। हिन्दु धर्मबाहेक अन्य धर्मका अनुयायीलाई भित्र पस्न दिइदैँन। पशुपतिमा सबैलाई प्रवेश दिनुपर्ने बहस बेलाबेलामा चलिरहन्छ।
मन्दिर प्रवेशमा गैर हिन्दुलाई रोक लगाएपछि विभिन्न टिकाटिप्पणी पनि हुन्छन्। कोषले भने ‘सुरक्षाका कारण गैरहिन्दु प्रवेशमा रोक लगाउनुपरेको’ बताएको छ। कोष सदस्यसचिव टण्डनले वि.सं. १४०६ मा बंगालका सुल्तान समसुद्धिन इलेहादले पशुपतिनाथमा आक्रमण गरेपछि गैरहिन्दुलाई रोक लगाएको इतिहास रहेको सेतोपाटीलाई जानकारी दिए। उनको भनाइले ६ सय ६५ वर्षअघिसम्म पशुपतिमा कसैलाई पनि रोक नभएको देखिन्छ।
‘त्यसताका पशुपतिनाथसँगै पाटनको तीनबहाल, स्वयम्भु लगायतका विभिन्न मन्दिरमा आक्रमण भएको र त्यही बेलादेखि गैरहिन्दुलाई प्रवेशमा रोक लगाइएको हो,’ टण्डनले भने। बंगालका राजा इलेहादले आक्रमण गरी पशुपति ध्वस्त पारेपछि त्यसको १० वर्षपछि जधसिम्हा रामवरधनाले मन्दिरको पुनर्निर्माण गरेका थिए। हिन्दु धर्ममा पर्ने शैव, शाक्त, वैष्णव, जैन, सौर, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि पशुपति मन्दिर प्रवेश खुला गरिएको टण्डनले बताए।
‘यी सम्प्रदायका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ,’ उनले भने। अन्य धर्म मान्नेहरु प्रायः पशुपति दर्शनका लागि नजाने उनले बताए। पर्यटकहरु मन्दिरको कलाकौशल हेर्न रुचि राख्ने भएकाले बाहिरबाटै हेरेर फर्कने गरेका छन्। ‘कतिपय पर्यटक भने भित्र प्रवेशमा रोक लगाएको भन्दै रुँदै फर्कने गरेका छन्,’ टण्डनले जानकारी दिए।
हिन्दु र गैर हिन्दु छुट्याउने उपयुक्त माध्यम नहुँदा समस्या देखिने गरेको छ। कोषका सदस्य सचिव टण्डनले भने छाला हेरेर हिन्दु र गैर हिन्दु छुट्याउने गरेको बताए। गोरो वर्ण भएकाहरुलाई विशेष सोधपुछ उनको भनाइ छ। टण्डनले पशुपतिमा गैरहिन्दु प्रवेश रोकमा अनावश्यक टिप्पणी गर्न नहुने बताए। उनले अन्य धर्ममा पनि यस्ता रोकटोक हुने जानकारी दिए। पशुपतिमा गैर हिन्दु प्रवेश रोक, मुस्लिमहरुले साउदी अरबको मक्का मदिनामा हिन्दुहरुलाई निषेध गर्ने काम परापूर्वकालदेखि नै चल्दै आएको उनले बताए। ‘धर्मका आ आफ्नै नीति र नियम हुन्छन्, सबैले त्यो मान्दै आएका छन्,’ टण्डनले भने।
पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदाअन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत छ। सन १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।
साभार Setopati.com








0 comments:
Post a Comment