Wednesday, June 25, 2014

प्रहरी र स्थानीय बासिन्दा बीच झडप दसजना घाइते सात राउण्ड हवाइ फायर

प्रहरी र स्थानीय बासिन्दा बीच झडप दसजना घाइते सात राउण्ड हवाइ फायर

वीरगन्ज : पर्साको पश्चिमी सीमामा अवस्थित जानकीटोला गाविसमा प्रहरी र स्थानीयबासिन्दाबीच बुधबार बिहान झडप हुँदा तीन प्रहरीसहित दसजना घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले सात राउण्ड हवाइ फायर गरेको छ।झडपमा आसबारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक संजीव जयसवाल, हवल्दार विनय झा र जानकीटोला प्रहरी चौकीका हवल्दार जीवनाथ धित्तल घाइते भएका प्रहरी नायब उपरिक्षक श्याम महतोले जानकारी दिए। गाउँलेतर्फका घाइतेका नाम खुल्न सकेको छैन।

स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय पोखरिया, इप्रका सेढवा, पाडेपुर, आसबारी र आसपासको प्रहरी चौकीबाट खटिएको प्रहरी टोली जानकीटोला बजार भरी नै परिचालन गरिएको छ। प्रहरीको बाक्लो स्थितिपछि गाउँले तितरबितर भएपनि स्थिति तनावपूर्ण रहेको छ।

गाविसका पूर्व अध्यक्ष कृष्णमोहन यादवको छोरा रंजन यादवले बुधबार बिहान हेलमेट बिना नै जानकीटोला बजारमा मोटरसाइकल कुदाएको विषयलाई लिएर प्रहरीसँग विवाद हुँदा तनाव भएको प्रत्यक्षदर्शीले जानकारी दिए।

हेलमेट बिना मोटरसाइकल कुदाउँदै गरेका रंजनलाई प्रहरीले चेतावनी दिएर फिर्ता पठाएपछि केहीबेरमा पाँच सातजना यूवाको साथमा फर्किएका उनले चेकपोष्टमा तैनाथ प्रहरीलाई हातपात गरेका प्रहरी नायब उपरिक्षक महत्तोले बताए। कुटपिटको घटनापछि प्रहरी चौकीका इन्चार्ज, असइ हरिप्रसाद भुषालसँग वादविवाद हुँदा गाउँलेले मुखिया (गाविस अध्यक्ष)का छोरामाथि प्रहरीले अनाहकमा हातपात गरेको आरोप लगाउँदै जानकीटोला प्रहरी चौकीमा घेरा हाल्दै प्रदर्शन् समेत गरेपछि तनाव भएको थियो।

थप मद्दतका लागी इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक नविन कार्कीको नेतृत्वमा प्रहरी टोली जानकीटोला बजार पुग्न नपाउँदै गाउँलेहरुको एउटा समूहले प्रहरीको टोलीमाथि ढुंगामुढा र गुलेली प्रहार गरेर घाइते बनाएको प्रहरीको दाबी छ। गाउँलेले भने,इन्स्पेक्टर नेतृत्वको टोलीले घरघरभित्र छिरेर निर्दोषलाई समेत अनाहकमा कुटपिट गर्न थालेपछि हामी प्रतिकारमा उत्रिनु परेको हो।

गाउँका मुखियाको छोराले कानून हातमा लिएर प्रहरीलाई हेप्ने प्रवृत्ति देखाउँदै आएका थिए,यसपटक प्रहरीले रोक्ने प्रयास गर्दा विवाद भएको हो,प्रहरी नायब उपरिक्षक श्याम महत्तोले भने, 'ट्राफिक नियमको पालनाका लागी आग्रह गर्दा गाउँमा छुट पाउनुपर्छ भन्दै गाउँलेले विरोध जनाउनु जायज होइन।'

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment