Tuesday, June 24, 2014

यी हुन लालकिल्ला तोड्नेहरू

काठमाडौं : २०४८ को आमनिर्वाचनमा सर्वाधिक लोकप्रिय नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्रीको कुर्सीमा बसेर चुनाउ लड्दा पराजित भएको काठमाडौं २ मा पहिलोपटक कांग्रेसले 'लालकिल्ला' तोडेको छ।


उपत्यकाबाहिर उपनिर्वाचन भएका क्षेत्रमा पनि कांग्रेसले पहिला पाएको मत जोगाउँदै चितवन ४ र कैलाली ६ मा चुनाउ जितेको छ भने चुनाउ हारेर पनि बर्दिया १ मा तीन हजार मत बढाएको छ। चारै निर्वाचन क्षेत्रमा एमाओवादीले भने पहिलाभन्दा कम मत ल्याएको छ। कैलालीमा एमाओवादी उम्मेदवारले जमानत गुमाएका छन्।
२०४६ पछि भएका सबै निर्वाचनमा काठमाडौं २ मा एमाले र पहिलो संविधानसभामा एमाओवादीले जितेका थिए। सात महिनाअघि भएको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा 'सानदार' मतले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जितेका थिए। उपनिर्वाचनमा भने कांग्रेस उम्मेदवारले जितेका छन्। अघिल्लो चुनाउमा 'धाँधली' भएको आरोप लगाएर छानबिन माग गर्दै आएको एमाओवादीले पनि सात महिनाको अवधिमा पहिलाको तुलनामा पाँच प्रतिशत मत कम पाएको छ।

यस क्षेत्रमा 'कम्युनिस्ट' बढी भएको भन्दै २०५६ सालमा कांग्रेस नेता कृष्णप्रसाद भट्टराई पर्सा १ बाट चुनाउ लडेर विजयी भएका थिए। पटकपटक हार्दै आएको कांग्रेसले यसपटक किन २० प्रतिशत मत बढायो? विश्लेषक पछिल्लो समय जनतामा एउटै पार्टीलाई छान्ने प्रवृत्ति फेरिएकाले मतपरिणाममा त्यो देखिएको बताउँछन्।

'केही वर्षअघिसम्म पहिला जुन पार्टीलाई भोट दियो, सधैं त्यसैलाई दिने मतदाताको सं या ठूलो थियो', त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक रामकुमार दाहालले भने, 'तर अहिले मतदाताको ट्रेन्ड फेरिएको छ। अहिले मतदाता पार्टी सदस्यता होइन, पार्टीको नीति, व्यावहारिक प्रयोगलगायत गतिविधिसमेत नजिकबाट हेरेर छान्ने भएका छन्।'

प्राय: उपनिर्वाचनमा सत्ताको नेतृत्व गरेको दललाई घाटा हुने गर्छ। त्यसमा पनि राजधानीमै हुने उपनिर्वाचनलाई त झनै सरकारको समीक्षासमेत भन्ने गरिन्छ। के अहिले काठमाडौंमा कांग्रेसले बढाएको २० प्रतिशत मत सुशील कोइराला नेतृत्वको सरकारको लोकप्रियताको उपहार हो? कि प्रतिस्पर्धी दलको बढ्दो अलोकप्रियता? राजनीतिशास्त्री काठमाडौंको सन्दर्भमा सरकारको लोकप्रियता र प्रतिस्पर्धी दलको अलोकप्रियता दुवै हुनसक्ने आँकलन गर्छन्।

'सरकारलाई लोकप्रिय भन्ने उल्लेख्य आधार त देखिँदैन तर अलोकप्रिय हुने गरी त्यस्तो पनि केही गरेको छैन', दाहालले भने, 'एमालेमा महाधिवेशनलाई लिएर देखिएको गुटउपगुट पनि उसको चुनाउ हार्ने कारण हुनसक्छ।'

एमाले अध्यक्ष झलनाथ खनालले काठमाडौंको परिणामबारे समीक्षा गर्ने बताए। 'समग्रमा एमालेको भोट बढेको छ। चार क्षेत्रमा गरी करिब १० हजार मत बढी आएको छ', एमाले मुख्यालयमा पत्रकारसँग खनालले भने, 'काठमाडौंमा केही प्रभाव महाधिवेशनको पनि पर्‍यो होला। चुनाउमा लाग्नुपर्ने साथी नलागेको हो कि भन्ने पनि छ। हामी समीक्षा गर्छौं।'

एकथरी विश्लेषक भने सरकारमाथि 'सुस्त' को आरोप लागे पनि 'स्मुथ' भएकाले कांग्रेसको लोकप्रियता नघटेको बताउँछन्। प्रधानमन्त्री कोइरालाले विवादबाट बचेर काम गरिरहेका बेला एमालेबाट सरकारमा नेतृत्व गरेका वामदेव गौतम शृंखलाबद्ध विवादमा मुछिन थालेपछि त्यसको असर मतदातामा समेत परेको अनुमान विश्लेषकको छ। 'सरकार कस्तो काम गर्छ, त्यसमा तुरुन्तै प्रतिक्रिया जनाउने प्रचलन देखिएको छ', दाहालले भने, 'सायद सरकारमा रहेका दलको काम हेरेर मतदाता चुजी भएका हुन सक्छन्।'

कोइरालाले जितेको चितवन ४ मा कांग्रेस पहिलाकै मत कायम गर्न सफल भयो। कोइरालाले २० हजार सात सय ७० मत ल्याएर जितेको यस क्षेत्रमा अहिले रामकृष्ण घिमिरेले पनि २० हजार तीन सय १८ मत ल्याएर जिते। एमाओवादी पहिला १० हजार सात सय ३९ मतसहित निकटतम प्रतिद्वन्द्वी भएको थियो। अहिले एमाओवादीका खुसीराम पाख्रिनले तीन हजार कम अर्थात् सात हजार आठ सय ५५ मत ल्याए।

सोही क्षेत्रबाट एमालेकी दिलकुमारी रावल थापाले भने पहिलाभन्दा झन्डै सात हजार मत बढाइन्।ग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले जितेको कैलाली ६ मा सोही पार्टीका पुष्करनाथ ओझाले १४ हजार सात सय ८४ मत ल्याएर जिते। ओझाको मत देउवाको भन्दा झन्डै दुई हजार कम हो। निकटतम प्रतिद्वन्द्वी एमालेका महेश्वर पाठकले ११ हजार ९ सय ५९ मत पाए। यसअघि उनैले आठ हजार पाँच सय ६३ मत पाएका थिए।

एमाओवादीका सन्दरराज रेग्मी एक हजार सात सय ६६ मत ल्याएर पाँचौं भए। यस क्षेत्रमा पहिलाभन्दा तीन हजार मत कम ल्याएर एमाओवादीको जमानतसमेत जफत भयो।

बर्दिया १ मा यसअघि गृहमन्त्री गौतमले १८ हजार तीन सय ४७ मत ल्याएर जितेका थिए। अहिले एमालेकै श्यामप्रसाद ढकालले १६ हजार ६ सय ९६ मत ल्याएर जिते। त्यस क्षेत्रमा कांग्रेसले पहिलाभन्दा तीन हजार मत बढाएको छ।

सात महिनाअघि कांग्रेसका पक्षमा आठ हजार पाँच सय ९८ मत परेको उक्त क्षेत्रमा अहिले कांग्रेसका सोदे बिष्टले ११ हजार तीन सय २५ मत पाए। एमाओवादीका भवनकुमार थारूले पहिलाभन्दा ६ सय कम मत ल्याए।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment