Tuesday, June 10, 2014

सञ्चार क्षेत्र नै मोदीमय अरबिन्द, राहुल र मोदी

हिन्दुधर्मले प्रारब्धको कुरा गर्छ। त्यसैबाट मानिसको जीवन प्रभावित छ भन्ने विश्‍वास राख्छ।
भारतको सोह्रौं लोकभसा निर्वाचनको चरणदेखि पन्ध्रौं प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालिसकेका नरेन्द्र दामोदरदास मोदीको चर्चा जारी छ। विभिन्न कोण र आयामबाट मोदीको चर्चा, परिचर्चा र टिप्पणी भइराखेको छ। एक किसिमले सञ्चार क्षेत्र नै मोदीमय भएको छ।
समयको बहाबले उनलाई माथि, तल वा मध्यधार कुन ठाउँमा पुर्‍याउँछ, उनको शासनकला, सीप र क्षमता कसरी प्रदर्शित हुन्छ भनेर हेर्न समय कुर्नुपर्छ। हिन्दुधर्मप्रति अत्यधिक आस्था र विश्वास भएका मोदीको चर्चाले आफ्नो समयमा प्रसिद्धि कमाएका सन्त अरविन्द र महापण्डितले सम्बोधित राहुल सांस्कृत्यानको जीवनगाथा स्मरणग्राह्य लाग्यो। मोदीलगायत यी दुई पात्रको जीवनको गति हेर्दा भाग्यवाद वा नियतिमाथि विश्वास गर्ने वा नगर्ने? भक्ति , ज्ञान र कर्मयोगको मार्गचित्र भएको हिन्दुको प्रसिद्ध ग्रन्थ गीताले भनेको कर्मयोगको अनुशरण गर्न मानिस स्वतन्त्र छ वा परा-नियन्त्रित छ? यसको जवाफ अध्यात्मक ज्ञाताले मात्र दिनसक्ने छन्।

हिन्दु धर्मले प्रारब्धको कुरा गर्छ। त्यसैबाट मानिसको जीवन प्रभावित छ भन्ने विश्वास राख्छ। त्यस्तै बौद्ध धर्मले मानिसको आफ्नै सञ्चित कर्मको प्रभाव उसमा पर्छ भन्ने धारणा राख्छ। क्रिश्चियन मतले परमेश्वर स्वयंले कुनै पनि मानिसको चरित्र निर्धारण गरिदिन्छन्।

त्यसका साथसाथै कुनै मानिसको जन्म हुने समय र ठाउँ तथा त्यो समय र स्थानअन्तर्गत उसको सामाजिक स्थितिसमेत निर्धारण गरिदिएको हुन्छ भन्ने मान्यता राखेको पाइन्छ। भिन्न धर्मका आआफ्ना धारणाले कुनै न कुनै रूपमा भाग्यवाद वा नियतिलाई समर्थन गरेको छ। धार्मिक मान्यताप्रति विश्वास गरे वा नगरे पनि उल्लिखित तीन पात्रको जीवनको बहाबले धार्मिक मान्यतासँग तादात्म्म्य राखेको छैन भन्नसक्ने अवस्था भने छैन। तीनैजनाको धर्म र राजनीतिसँग कुनै न कुनै रूपमा साइनो गाँसिएको छ। तर जीवनको गतिले कसरी मोड फेर्छ? नियतिवादलाई कुनै न कुनै अर्थमा चाहेर वा नचाहेर पनि समर्थन गर्न कर लाग्छ। सन्त अरविन्द (सन् १८७२-१९५०) कलकत्तामा जन्मेका थिए। उनका बाबु डा. कृष्णधन घोष मेडिकल अफिसर थिए। हिन्दुधर्म संस्कृतिबाट छोरालाई विमुख बनाउन चाहन्थे। त्यसैले पाँच वर्षकै उमेरमा दार्जीलिङको लोरेटो स्कुलमा प्रारम्भिक शिक्षाका लागि पठाउँछन्।

सात वर्षको उमेरमा बेलायतमा पढ्नका लागि पठाउँछन्। अरविन्दले बेलायतमा म्यान्चेस्टर र क्याम्ब्रिजको सेन्टपाल कलेजमा १४ वर्षसम्म अध्ययन गर्छन्। पाश्चात्य संस्कृतिसँग भिजिसकेका अरविन्द स्वदेश फर्केको केही समयपछि नै आर्यसंस्कृतिप्रति आकर्षित हुन्छन्। भारतीय संस्कृतिबाट विमुख राख्ने बाबुको चाहना अधुरो हुन पुग्छ। बडौदामा प्राध्यापन गर्ने अरबिन्दलाई उपनिषद् र गीताले मोह लगाउँछ। सन् १९०५ देखि १९१० सम्म बंगालको राष्ट्रवादी आन्दोलनमा सक्रिय हुन्छन्। हिंसात्मक आन्दोलनमा विश्वास पनि राख्छन्। 'मानकेटोलो' बमकाण्डमा आरोपित हुन्छन्। अदालतमा मुद्दा पनि चल्छ। कानुनत: निरापराध मानिन्छन्।

भारतको निजामती सेवाको आईसीएसको परीक्षा राम्रो स्थानमा उत्तीर्ण पनि गर्छन्। यी सबै कुराले उनलाई सम्हालेर राख्न सकेन। बंगाली पत्रिकामा विवाहका लागि विज्ञापन गरेर १४ वर्षकी मुलालिनी देवीसँग परम्पराभन्दा फरक ढंगले विवाहसमेत उनले गरे।

अन्तत: बेलायतमा प्रशिक्षित र पाश्चात्य संस्कृतिबाट प्रभावित बाबुको इच्छा अधुरो बनाउँदै पण्डिचरीको आश्रममा आफूलाई समाहित बनाउँछन्। राजनीतिक आन्दोलनसँगको साइनो टुट्छ। आश्रमको सुरुको अवस्था दयनीय थियो भन्ने भनाइ पनि छ। डाक्टर बाबुको इच्छा खण्डित बन्छ। अरविन्दले 'द लाइफ अफ डिवाइन' र 'मिस्ट्री अफि गिता', 'ह्युमन साइकल', 'द स्यानथेसिस अफ योगा', 'सावित्री' जस्ता कृतिको रचना गर्छन्। आध्यात्मिक क्षेत्रमा प्रसिद्धि कमाउँछन्।

आफ्नो समयमा विद्धताको क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति पाएका राहुल सांस्कृत्यायन (सन् १८९३-१९६३) परिवारका कान्छा छोरा थिए। साविक उनको नाम केदारनाथ पाण्डे थियो। १९ वर्षकै उमेरमा रामानुज सम्प्रदायअन्तर्गत दीक्षित हुन्छन्। पाखुरामा शंख, चक्र डामेर वैष्णव धर्मका अनुयायी भएका उनी त्यसैमा अड्दा पनि अडिँदैनन्।

३७ वर्षको उमेरमा श्रीलंकामा गएर बौद्ध परम्पराअनुसार भिक्षु बन्छन्। भारतीय स्वतन्त्रता आन्दोलनमा पनि उनको जीवनको हिस्सा बाँडिएको पाइन्छ। तर धर्म र राजनीति दुवैले उनलाई काबुमा राख्न सक्दैन। अन्तत: उनी शताब्दीकै ख्यातिप्राप्त विद्वान्को रूपमा दरिन पुग्छन्। उनको प्रारम्भिक जीवन नेपाली बाबाबाट प्रभावित भएको स्वयम्ले उद्घोष गरेका छन्। ११ वर्षको उमेरमा पहिलो विवाह गरेका उनले रूसकी इलिना नौबटोंबनासँग दोस्रो र तेस्रो डा. कमला सांस्कृत्यायनसँग विवाह गरेका थिए।

१३० भन्दा बढी ग्रन्थ प्रकाशित गरेका राहुल तिब्बती, सिंहली, अंग्रेजी, चाइनीज, रूसी, जापानी आदि विभिन्न भाषाका ज्ञातासमेत थिए भनिन्छ। उनले लोकसाहित्य, धर्म, दर्शन, इतिहास, राजनीति, जीवनी, कोश आदि विविध क्षेत्रमा कलम चलाएका छन्। इतिहाससँग जोड्ने उनको कृति बोल्गा से गंगाले उनको अन्वेषकको छवि उजागर गरेको छ।

१८ वर्षको उमेरमा घर छोडेर पश्चिम बंगालको बेलुरमठ, राजकोटको रामकृष्ण मिसन, हिमालयको गुप्तवास हुँदै प्रधानमन्त्रीको पदमा आसीन हुन पुगेका मोदी, बेलायतमा शिक्षित अरविन्द र घुमन्ते राहुलको जीवनको पदचाप आफैंमा रोचक छ। भौतिकवादी पूर्वीय चिन्तक चार्वाकको दर्शनले यसलाई कसरी लिन्छ? द्वन्द्वात्मक भौतिकवादका व्याख्याता माक्र्सको दर्शनले कुन अर्थमा बुझ्छन् तर तिनै पात्रको जीवनले भाग्यवाद र तिपतीलाई कतै प्रतिनिधित्व गरेको त छैन?

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment