Tuesday, June 10, 2014

किन मारियो मृग

नेपाल विद्यार्थी संघका नेता तथा शंकरदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति शुभराम बस्नेत फेरि मारेको मृगसहित धादिङबाट पक्राउ परेका छन्। यसअघि फागुन २१ गते पनि बस्नेत हतियारसहित पक्राउ परेका थिए।

त्यसबेला पनि मृगको सिकार गरेको आरोपमा प्रहरीले उनीमाथि छानबिन गरेको थियो। दुर्लभ वन्यजन्तु मृगको सिकार गरेर गाडीमा हाली काठमाडौंतर्फ ल्याउँदै गर्दा बस्नेत सोमबार धादिङको थाक्रेमा पक्राउ परेका हुन्। बागलुङबाट काठमाडौं आउँदै गरेका बस्नेतसहित ६ जना पक्राउ परेका छन्। बस्नेत चढेको ना२च ४०५७ नम्बरको पजेरोको पछाडि मारेको मृग लुकाइएको थियो। प्रहरीले बस्नेतको साथबाट एक थान टुटु म्याग्नम राइफल र १९ थान गोली बरामद गरेको छ। बस्नेतसँगै पक्राउ पर्नेमा काठमाडौंका हरिश भण्डारी, रोशन खड्का, रमन राई, धनुषाका चन्द्र गदाइली र तनहुँका मदन थापा छन्।

थाक्रे गाविसको आठ किलोस्थित पृथ्वी राजमार्गसँगै जोडिएको ठूलो सामुदायिक वनबाट साढे दुई किलोमिटर भित्र पसेर बस्नेतसहितले मृग मारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख डीएसपी प्रकाश मल्लले बताए। बस्नेतको समूह बिहान ८ बजे राजमार्गछेउमा मृग देखेपछि हतियार लिएर मार्न दौडिएको थियो। स्थानीय बासिन्दाले गोली चलेको र केही वन्यजन्तु मारेको सूचना दिएपछि प्रहरीले राजमार्गमा निगरानी बढाएको थियो। 'इजाजतप्राप्त हतियार भए पनि बोकेर हिँड्नु गलत हो', मल्लले भने।

प्रहरीले बस्नेतसहित पक्राउ परेका सबैलाई जिल्ला वन कार्यालय धादिङमा बुझाएको छ। वनले बस्नेतसहित ६ जनालाई थप अनुसन्धानका लागि हिरासतमा रा न प्रहरी कार्यालयमै फिर्ता पठाएको छ। बस्नेतले पत्रकार बोलाएको भन्दै पक्राउ गर्न गएको प्रहरी टोलीलाई हप्काएका थिए। संघका अध्यक्ष तथा सभासद् रञ्जित कर्णले बस्नेतको कार्य गलत भएको बताउँदै कानुनबमोजिम कारबाही हुनुपर्ने बताए। उनले विद्यार्थी नेता भएर गैरकानुनी क्रियाकलाप गर्नेलाई कडा कारबाही हुनुपर्ने बताउँदै संघले समेत बस्नेतविरुद्ध कारबाही अगाडि बढाउने जानकारी दिए। उनले भने, 'कस्तो फटाह मान्छे रहेछ, कडा कारबाही हुनुपर्छ।'

यसअघि फागुन २१ गते पनि बस्नेतसहित काठमाडौं मालीगाउँका लीलाबहादुर खड्का, जोन खड्का र सचित शर्मा नवीकरण नगरिएका हतियारसहित पक्राउ परेका थिए। त्यसबेला पनि मृगको सिकार गरेको आरोपमा प्रहरीले उनीहरूमाथि छानबिन गरेको थियो। त्यतिबेला नेविसंघले आफ्ना कार्यकर्तालाई काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले बिनाकारण पक्राउ गरेको भन्दै सडकमा विरोध प्रदर्शनसमेत गरेको थियो।

संघका अध्यक्ष कर्णले पत्रकार सम्मेलन गरेरै इजाजतप्राप्त हतियार बोकेर हिँड्दासमेत गैरकानुनी भन्दै सरकारले पक्राउ गर्नु गलत भएको बताएका थिए। खरेलले भने स्वीकृति दिएको हतियार घरमा राख्नका लागि भएकाले शंकास्पद अवस्थामा समूह बनाएर हिँड्दा गलत नियत देखिएकाले मुद्दा चलाइएको बताएका थिए।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment