Thursday, June 12, 2014

चितवनमा रोनाल्डो

चितवन : ब्राजिलमा विश्‍वकप फुटबलको बीसौँ संस्करण सुरु हुन केही घण्टामात्र बाँकी छ।

यस्तो बेला ब्राजिलका फुटबल स्टार रोनाल्डो चितवनको सौराहामा हुने कुरै भएन।
पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि सौराहा आएका छैनन्, तर एउटा रोनाल्डो गत शनिबारदेखि मायाको खोजीमा यहाँ भौतारिइरहेको छ। यो 'रोनाल्डो' कुनै 'स्टार फुटबलर' नभएर चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको जंगली मत्ता (भाले हात्ती) हो।
राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीसारमा मंगलबार रातभर (पोथी हात्ती) सँग यौनक्रिडाका लागि रोनाल्डोले कुरिरह्यो। हात्तीसारमा कोलार फेन्स लगाएर विद्युत प्रवाह गरिएकाले रोनाल्डो भित्र छिर्न नसक्दा उसको इच्छा पूरा हुन सकेन। कोषका कर्मचारी दीपक श्रीवास्तवले शनिबारदेखि रोनाल्डो सौराहा क्षेत्रमा देखिएको बताए। रोनाल्डोलाई देखाउँदै उनले भने, 'यो दिनभर जंगलतिरै हराउँछ, साँझ परेपछि हात्तीसारको ढोई हेर्दै ओहोरदोहोर गर्छ। तीन दिनदेखि यसले रातमा यहीँ डेरा जमाएको छ।'

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि सौराहा आएका छैनन्, तर एउटा रोनाल्डो गत शनिबारदेखि मायाको खोजीमा यहाँ भौतारिइरहेको छ।
निकुञ्जका पशु चिकित्सक कमल गैरे सामान्यतया अहिले हात्तीको प्रजनन् समय नभए पनि रोनाल्डोलाई यौनको मात चढेको बताउँछन्। 'अस्ति हामीले पनि सौराहामा रोनाल्डोलाई देख्यौँ, उ अलिअलि मातेको रहेछ।' मत्ताको आँखा र कन्चट नजिकको ग्रन्थीबाट तरल पदार्थ बग्न थालेपछि उसलाई मात चढेको र उसले यौनक्रिडा चाहेको बुझ्न सकिने गैरे बताउँछन्।

सौराहामा निकुञ्‍ज र कोषको एकएकवटा हात्तीसार छ। दुवैमा गरी आधा दर्जन ढोई छन्। सौराहानजिकै खोरसोरमा नेपालकै एकमात्र हात्ती प्रजनन् केन्द्र छ। प्रजनन् केन्द्रमा अहिले सातवटा ढोई र १० वटा छावा (बालहात्ती) छन्। केन्द्रका छावाका आमा (ढोईं) को रेकर्ड भए पनि बाबु (मत्ता) को रेकर्ड नभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर बताउँछन्। उनले भने, 'हात्तीसारका ढोईले पाएका सबै छावा जंगली मत्ताकै हुन्। कुन छावा रोमियोको, कुन ध्रुबेको र कुन रोनाल्डोको भन्‍ने यकिन गर्न गाह्रो छ। रोनाल्डोका सन्तान आधा दर्जन जति होलान्।'

निकुञ्‍जभित्र ध्र्रुबे, रोनाल्डोसहित १० वटा मत्ता रहेको अनुमान छ। २०४३ सालमा स्थापना भएको खोरसोरस्थित हात्ती प्रजनन् केन्द्रमा अहिलेसम्म ३९ वटा छावा जन्मिसकेका छन्। यी सबैका बाबु जंगली मत्ता नै हुन्। केही वर्षअघि मत्ता रोमियो मात चढेका बेला केन्द्रमा पस्न खोज्दा करेण्ट लागेर मरेको थियो। गतवर्ष चारजनाको ज्यान लिएको मत्ता ध्रुबे पनि जंगलभित्रै भूमिगत छ। मायाको खोजीमा निस्केको रोनाल्डो करेण्टयुक्त तारबारका कारण उद्देश्यमा सफल हुन सकेको छैन, तर उसले हार मानिसकेको छैन। विश्‍वकप फुटबलको ज्वरोले सबैलाई छोएको बेला मत्ता रोनाल्डो ढोईसँग 'गोल' गर्ने मुडमा देखिएको छ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment