फेसबुकमा प्रहरीबिरुद्ध कमेन्ट लेख्ने रहमान मुद्दा खेप्न फेरि काठमाडौं
चोरीको बाइक फिर्ता लिन ३५ हजार तिरेकै रहेछ, १५ हजार नतिरेकाले ब्ल्यूबुक पाएको छैन, सत्य कमेन्ट लेख्दा पनि थुनामा बस्नुपर्यो
प्रहरीविरुद्ध फेसबुकमा स्टाटस लेखेको आरोपमा पक्राउ परी तारेखमा रिहा भएका सप्तरी पोर्ताह १ का अब्दुल रहमान तारेख धाउन फेरि काठमाडौं आइपुगेका छन्।१७ गते रात्रीबस चढेर काठमाडौं आइपुगेका उनी बालाजुस्थित आफन्तको घरमा बसेका छन्।
उनलाई अहिले पनि आफूलाई दोषी ठहर्याइने हो कि छाडिने हो भन्ने चिन्ताले छाडेको छैन। उनी जिल्ला अदालत काठमाडौंमा बिहीबार बिहान १० बजे तारेख धाउन जाँदैछन्। तारेखमा रिहा गरेकै दिनदेखि के हुने हो भनेर मनमा शंका उपशंका उब्जिइरहेको र डर लागिरहेको उनले बताए। राम्रोसँग निदाउन नपाएको भन्दै चिन्ता व्यक्त गरे।
‘सप्तरीदेखि अझै कतिपटक आउनुपर्ने हो, कति दौडधूप गर्नुपर्ने हो, थाहा छैन,’ उनले भने। मुस्लिम समुदायको पर्व रमजानमा रोजा बसेका उनलाई झन् समस्या परेको छ। रमजानको बेला बिहान सूर्य उदाउनुभन्दा अघि र राति सूर्य अस्ताइसकपछि मात्र खाना खाने परम्परा छ।
उनले नागरिक दैनिकमा छापिएको ‘सप्तरीमा सुध्रँदो सुरक्षा अवस्था’ शीर्षक समाचारमा फेसबुकमा कमेन्ट गरेका थिए, ‘केको सुध्रिनु, आफ्नै चोरी भएको बाइक फर्काउन त पैसा तिर्नुपरिरा’छ त्यो पनि ५० हजार।
फेसबुकमा कमेन्ट गरेको निहुँमा सप्तरी प्रहरीले जेठ १८ गते उनलाई पक्राउ गरेको थियो। सप्तरी प्रहरी प्रमुख दिनेश अमात्यले रहमानलाई थुन्ने आदेश दिएका थिए। उनीमाथि विद्युतीय कारोबार ऐनसम्बन्धी मुद्दा लगाउने तयारी प्रहरीले तयारी गरेको थियो। १७ दिनसम्म रहमानलाई थुनामा राखेपछि उनका बाबुले बन्दी प्रत्यक्षीकरणको रिट हाले। विद्युतीय कारोबार ऐनसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतले मात्र हेर्ने भएपछि उनलाई असार ६ गते रातारात काठमाडौं ल्याइयो।
असार ७ गते उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइयो। न्यायाधीशले ५ हजार धरौटीमा उनलाई छाड्ने आदेश दिए।
प्रहरीले पक्राउ गरेको २१ दिनपछि उनी सप्तरीस्थित घर पुगे। मोटरसाइकल हराएका छिमेकी कैलाश महात्मानसँग भेटे।
मोटरसाइकल हराएको बारेमा सुनेका मात्र उनले घटनाबारे सबै जानकारी लिएको सेतोपाटीसँग बताए।
‘कैलाशको मोटरसाइकल जेठ ५ गतेतिर हराएको थियो,’ उनले भने, ‘उनको मोटरसाइकल सप्तरीकै केराबारी भन्ने स्थानमा भेटिएछ, बाइक भेट्नेले ५० हजार दिने भए बाइक दिन्छु, नत्र दिन्न भनेपछि कैलाशले ३५ हजार तत्कालै र बाँकी १५ हजार पछि दिने सर्तमा मोटरसाइकल ल्याएछन्।’ १५ हजार पछि दिने भनेकाले मोटरसाइकल भेट्नेले बिलबुक आफैं राखेको र अझैसम्म नदिएको उनले बताए।
‘सत्य घटनाबारे मैले कमेन्ट गर्दा थुनामा बस्नु पर्यो,’ उनले भने ‘घटनाबारे सबै कुरा अदालतमा श्रीमानलाई बताउँछु।’
राजविराजमा जुत्तापसल सञ्चालन गरेर परिवारको जीविका चलाइरहेका रहमान अहिले पसल बन्द गरेर काठमाडौं आएका छन्। पसल बन्द गरेर काठमाडौं आउँदा दैनिक कमाइ पनि टुटेको उनले बताए। ‘अहिले केही नभए पनि दैनिक ३ हजार आम्दानी हुन्थ्यो, पसल बन्द गरेर आउनु परेको छ,’ रहमानले भने, ‘रोजीरोटीका लागि खोलिएको पसल नै बन्द भएपछि कसरी जीविका चलाउने?’
उनले ‘चाँडै मुद्दाको किनारा लागे चैनको सास फेर्न पाउने’ बताए। Setopati .com बाट साभार








0 comments:
Post a Comment