खेलको सुरुमा घरेलु टोली ब्राजिलका मार्सेलोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि क्रोएसियाले सुरुवाती अग्रता लियो।तर, खेलको २९औं मिनेटमा ब्राजिलका २२ वर्षीय युवा खेलाडी नेमारले गरेको बल प्रहारले आकर्षक गोलमा परिणत भयो र घरेलु टोलीको गोलयात्रा सुरु भयो।
खेलको दोस्रो हाफको ७१औं मिनेटमा घरेलुटोली ब्राजिलले पेनाल्टी पायो।पेनाल्टीको मौका सदुपयोग गर्दै ब्राजिलका स्टाइकर नेमारले आकर्षक गोल गर्यो र ब्राजिल २-1को अग्रता लियो। यस्तै खेलको ९० औं मिनेटमा ब्राजिलका अर्का खेलाडी ओस्कारले गोल गर्दै ब्राजिललाई ३-१ को सुनिश्चित जीत दिलाए ।यो जीतसँगै घरेलु टोली ब्राजिल बीसौं विश्वकपको उपाधि जीत्ने प्रदर्शन प्रस्तुत गरेको छ। प्रशिक्षक लुइज फिलिप स्कोलारीको प्रशिक्षणमा ब्राजिलको यो लगातार दशौं जीत हो। फुटबलरहरूको देशका रूपमा समेत परिचित ब्राजिलका २० करोड जनता यतिबेला घरेलु टोलीको सफलतामा खुशी मनाइरहेका छन्।
ब्राजिल अघिल्ला दुई संस्करणमा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। यसैले पनि घरेलु मैदान ब्राजिलका लागि अवसर र चुनौती दुवै हो। गत वर्ष विश्व च्याम्पियन स्पेनलाई हराएर अन्तरमहादेशीय प्रतियोगिताको उपाधि जितेपछि ब्राजिलको चर्चा ह्वात्तै बढेको छ। अनुभवी र ठूला व्यक्तिगत सफलता पाएका खेलाडी टोलीमा नरहे पनि छोटो समयमा विश्व चर्चा बटुलेका नेमार नै टोलीका सबैभन्दा ठूला आकर्षण हुन्। डानी आल्भेस, डेभिड लुइज, फ्रेड, मार्सेलो, रामिरेस, विलियन, पाउलिन्हो, जोलगायतका खेलाडी पनि ब्राजिलका भरोसा हुन्।
टोलीमा युवा र अनुभवी खेलाडीको तालमेल गजबको छ। पछिल्लो समय ब्राजिल हरेक पक्षमा बलियो देखिएको छ। व्यावसायिक फुटबलमा युरोपका माथिल्ला क्लबको सुरुआती टोलीमा रहेर खेलेका खेलाडी ब्राजिलियन टोलीमा हावी छन्। ब्राजिलले पछिल्ला नौ खेल लगातार जितेको छ। यसबीचमा ब्राजिलले ३० गोल गरेर चार गोलमात्र खाएको छ। अन्तिम पटक ब्राजिलले गत अगस्तमा स्विटजरल्यान्डसँग पराजय ब्यहोरेको थियो। विश्वकपको पूर्वसन्ध्यामा भएका दुईवटा अभ्यास खेलमा ब्राजिलले पनामालाई ४-० र सर्बियालाई १-० गोलले हरायो। प्रशिक्षक लुइस फिलिप स्कोलारी पनि टोलीका आशा हुन्। स्कोलारीकै प्रशिक्षणमा ब्राजिल सन् २००२ को विश्वकप विजेता बनेको थियो।
को हुन नेमार ?
युवा खेलाडी नेमार छैटौंपटक विश्वकप जित्ने ब्राजिलको योजनाका मुख्य हतियार हुन्। २२ वर्षीय यी स्ट्राइकर तथा विंगरले राष्ट्रिय टोलीमा सानदार प्रदर्शन गर्दै आएका छन्। गत वर्ष ब्राजिलमै आयोजना भएको अन्तरमहादेशीय प्रतियोगिताको उपाधि घरेलु टोलीले जित्दा नेमार प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बनेका थिए। सोही योगदानका कारण उनले 'गोल्डेन बल' पनि पाएका भए।
स्पिड, ड्रिबलिङ र फिनिसिङमा उनी अब्बल छन्। दुवै खुट्टाले बल प्रहार गर्न सक्नु उनको विशेष क्षमता हो। सन् २०१० को अगस्तमा सिनियर राष्ट्रिय टोलीमा 'डेब्यु' गरेयता उनले अन्तर्राष्ट्रिय फुटबलमा ४८ खेल खेलेर ३१ गोल गरेका छन्। यस वर्ष उनले राष्ट्रिय टोलीका लागि दुई खेलमा चार गोल गरेका छन्। राष्ट्रिय टोलीका लागि पछिल्लो समय उनको गोल गर्ने गति बढिरहेको छ। सन् २०१३ मा उनले १९ खेलमा १० गोल गरेका थिए। आफ्नो क्लब बार्सिलोनाका लागि भने यो सिजनमा सोचेअनुरूप खेल्न नसकेपछि उनले आलोचना सहनु परेको थियो। -एजेन्सी








0 comments:
Post a Comment