Monday, June 16, 2014

पूर्व प्रेमी विरुद्ध प्रीति जिन्टाको उजुरी

मुम्बई : बलिउड अभिनेत्री प्रीति जिन्टाले पूर्वप्रेमी नेस वाडियाविरुद्ध दुर्व्यवहारको आरोप लगाउँदै उजुरी दायर गरेकी छन्।

मुम्बईस्थित मरिन ड्राइभ प्रहरीचौकीमा शुक्रबार उजुरी बुझाएकी उनले गत मे ३० मा वांखडे स्टेडियममा आफू दुर्व्यवहारको सिकार भएको जनाएकी छन्।

मुम्बईमा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत किंग्स इलेभेन पन्जाब र चेन्‍नई सुपर किंग्सबीचको खेलका दिन यस्तो घटना भएको जिन्टाको उजुरीमा उल्लेख छ।

प्रीति र वाडिया दुवै पञ्जाब टोलीका मालिक हुन्। प्रीतिले वाडियाले आफूमाथि धम्की, अपशब्दमात्र नभई हातसमेत हालेको बताएकी छन्। 'मसँग सबैखाले शक्ति छ, तँ एउटी अभिनेत्रीमात्र होस् भन्दै वाडियाले बेपत्ता बनाउने धम्की दिए', प्रीतिले उजुरीमा भनेकी छन्।

पाँच वर्ष लामो प्रेमसम्बन्धपछि ४४ वर्षीय व्यापारी वाडिया र ३९ वर्षीया लोकप्रिय अभिनेत्री केही वर्षअघिमात्र छुट्टिएका थिए। सम्बन्धमा नरहे पनि दुवैबीच व्यापारिक साझेदारी भने कायमै छ।
सम्बन्धमा नरहेपछि वाडियाले आफूलाई बारम्बार धम्क्याउँदै आएको पनि प्रीतिले जनाएकी छन्। उजुरीलगत्तै प्रीति अमेरिका गएकी उनकी एजेन्टले बताएकी छन्।

प्रीतिको उजुरीले आफू स्तब्ध भएको वाडियाले बताएका छन्। उजुरीमा उल्लिखित आरोप निराधार भएको बताउँदै वाडियाले प्रीतिजस्ती मान्छेले यस्तो व्यवहार गर्छिन् भन्ने आशा नै नगरेको प्रतिक्रिया दिएका छन्। -एजेन्सी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment