Thursday, June 26, 2014

क्रिकेट संघ विघटन गरी राष्ट्रिय बोर्ड बनाउने तयारी

क्रिकेट संघ विघटन गरी राष्ट्रिय बोर्ड बनाउने तयारी विनोद दास भन्छन् – स्वागतयोग्य पहल हो

१२, असार काठमाडौं । सरकारले नेपाल क्रिकेट संघ विघटन गरी राष्ट्रिय क्रिकेट बोर्ड गठन गर्ने प्रक्रिया थालेको छ । क्रिकेड बोर्ड गठनका लागि गठनादेश समेत तयार हुन लागेको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ । विश्वका अन्य देशहरुमा पनि क्रिकेट बोर्ड रहेको उदाहरण दिँदै संघको साटो बोर्ड गठन हुन लागेको हो ।

नेपाल क्रिकेटका संघका अध्यक्ष टंक आङबुहाङसहित क्यानका अधिकांश पदाधिकारीमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि अहिले क्रिकेट संघले काम गर्न सकेको छैन ।
अख्तियारले क्रिकेट संघलाई चाँडो पूर्णता दिन युवा तथा खेलकुद मन्त्रालयलार्य निर्देशन दिइसकेको छ । तर, सरकार भने राष्ट्रिय क्रिकेट बोर्ड गठनको तयारीमा जुटेको छ ।

गठनादेश बन्दै
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले बोर्ड गठनको योजनामा मन्त्रालयल लागेको स्वीकार गरे ।

अनलाइनखबरसँग कुरा गर्दै मन्त्री पौडेलले भने ‘क्रिकेटको व्यवसायिक विकासका लागि राष्ट्रिय क्रिकेट बोर्ड गठन गर्नुपर्ने सरोकारवालाको सुझाव अनुसार सरकार अघि बढेको छ’ । उनका अनुसार बोर्डको गठनादेश पनि तयार हुँदैछ ।मन्त्रिपरिषदबाट गठनादेश पारित भएपछि बोर्ड गठनको बाटो खुल्नेछ ।
त्यसअघि एमालेका खेलकुद मन्त्रीले सत्ता साझेदार नेपाली कांग्रेसको खेलकुद हेर्न आधिकारिक व्यक्तिसँग बोर्ड गठनबारे छलफल गर्न लागेको स्रोतले जनाएको छ । ‘तर कांग्रेसबाट कसले हेर्ने भन्नेनै देखिएन, कोसँग छलफल गर्ने भन्न नभएकाले कुरा अघि बढेको छैन’ मन्त्री निकट स्रोतले भन्यो । मन्त्री पौडेल आफ्नो कार्यकालमै बोर्ड गठन गरी क्रिकेटको स्वतन्त्र र व्यवसायिक विकासको श्रेय लिन चाहान्छन् ।

स्वागतयोग्य पहलः विनोद दास
क्रिकेट संघको साटो बोर्ड गठन भयो भने त्यो बढी व्यवसायिक हुने र राजनीतिक हस्तक्षेप कम हुने विज्ञहरु बताउँछन् । बोर्ड गठनको पहललाई राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले स्वागतयोग्य भने । उनले प्रायः सबै देशमा क्रिकेट बोर्ड नै रहने गरेको उदाहरण दिँदै क्रिकेट संघ पछिल्लो समयमा राजनीतिकरण भएकाले पनि विकल्प खोज्नुपर्ने बताए ।
‘बोर्ड गठन भयो भने त्यो व्यवसायिक हुन्छ, कार्यकारी निर्देशकले नीति नियम र कार्यक्रमहरु कार्यान्वयन गर्छ, राजनीतिक हस्तक्षेप पनि कम हुन्छ’ दासले अनलाइनखबरसँग भने ‘बोर्डको गठनादेश कस्तो बन्छ, त्यस आधारमा थप टिप्पणी गर्नु उपयुक्त हुन्छ’ ।

भारत, बंगलादेश, पाकिस्तानलगायत दक्षिण एशियाली देशहरुमा मात्र होइन क्रिकेटका बादशाह मानिने सबै देशमा राष्ट्रिय क्रिकेट बोर्डमार्फत काम हुने गरेका छन् । बोर्डले नीतिगत निर्णय गर्ने बाहेक अरु सबै व्यवसायिक व्यक्तिहरुले काम गर्ने भएकाले पनि बोर्ड गठनलाई खेलाडी तथा विज्ञहरुले राम्रो प्रयास भनेका छन् । अनलाइनखबर

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment