Thursday, June 12, 2014

चकलेटको कमाल हेर्नुस

चकलेट मिठाइ न हो, यसमा गुलियो स्वादबाहेक अरु गुणकारी तत्व के नै होला भन्ने हामीलाई लागेको हुनसक्छ। हामी केटाकेटी हौं र चकलेट खाने? बुढो भैसकिस्, तर अझै पनि चकलेट खान छाडेको छैनस्? धेरैले यस्तो भनेको सुनिन्छ। वास्तवमा चकलेटको महत्व गुलियो स्वादमामात्र सीमित छैन।

विभिन्न रुप र स्वादमा पाइने चकलेटको इतिहास हजारौँ वर्ष प्राचीन छ


चकलेटको महत्व बुझ्न ‘कोेको बिन’को महत्व बुझ्नुपर्छ। चकलेटमा प्रयोग हुने कोको थिअ‍ो ब्रोमाककाओ भनिने रुखको बियाँबाट प्राप्त हुन्छ ।

कोकोको उत्पादन र प्रयोग मायनसभ्यता (२५०–९०० एडी) जत्तिकै पुरानो छ । उसबेला कोकोको महत्व यति धेरै थियो कि यसलाई देवताको उपहार वा देवताको खानेकुराको रुपमा चिनिन्थ्यो।

कोकोको उपयोगिताबारे विविध चर्चा, अध्ययन र अनुसन्धानहरु भएका छन्। प्रसस्त कोकोयुक्त पेयपदार्थहरु सेवन गर्नाले पानामाका स्थानीयहरुमा उच्च–रक्तचापको समस्या नहुने अनि निरोगी भएर त्यहाँका मानिसहरु लामो जीवन बाँच्ने गरेको अनुसन्धानकर्ताहरुको राय छ।

कोकोबाट बनेको चकलेट युरोपियन मुलुकहरुमा १६औँ शताब्दीतिर प्रवेश भयो र यसको औद्योगिक उत्पादन स्पेनमा सुरु गरियो। युरोपियनहरु चाहे पाको होस् वा जवान, चकलेट भनेपछि हुरुक्कै हुन्छन्। एक रिपोर्टअनुसार बेलायत, स्विटजरलेण्ड र जर्मनीमा एक व्यक्ति औसत ११ किलोग्राम चकलेट खाने गर्छन् जब कि भारतीयहरु ०।१६५किलोग्राममात्र। तर, यसको लोकप्रियता पश्चिमी मुलुकहरुमा मात्र होइन, एसियामा पनि बढ्दो छ।

चकलेट र मस्तिष्कको सम्बन्ध

हामी सबैलाई चकलेट खाँदा विशिष्ट आनन्दको अनुभूति हुन्छ, अर्थात यसमा आनन्द दिने असर (फिलगुड इफेक्ट) रहेको हुन्छ। भनिन्छ कि चकलेटको सेवनपछि हाम्रो मस्तिष्कबाट इन्डोरफिन भनिने केमिकल निस्कन्छ, जसबाट आनन्दको अनुभूति प्राप्त हुन्छ। त्यसैले होला प्रणय पर्व (भ्यालेन्टाइन डे) मा चकलेटको विशेष महत्व भएको। चकलेटमा चिल्लो पदार्थको अतिरिक्त फलाभानोल पोलिफेनोल (एन्टी–अक्सिडेन्ट), क्याफिन, थियोब्रोमिन, फिनिलएथिलामिन जस्ता तत्वहरु पाइन्छन्।

यीमध्ये क्याफिन, थियोब्रोमिन, फिनिलएथिलामिन मस्तिष्कलाई सक्रिय बनाउने गुण रहेका तत्वहरु हुन्। चकलेटमा पाइने यी तत्वहरुको असर चेतना, मुड, अनि व्यवहारमा समेत पर्छ। के चकलेट बढी खाने मानिसहरुको मानसिक चेतना (कगनेटिभ पावर) कम खाने वा नखानेभन्दा प्रवल हुन्छ? यो चकलेटप्रेमी सबैको चासोको विषय हुनसक्छ।

यसै सन्दर्भमा डा. मेससेरलीले चकलेट सेवन र नोबेल पुरस्कार विजेताहरुको हुनसक्ने सम्बन्धबारे निउइन्गलेन्ड जर्नल अफ मेडिसिनमा एक रोचक लेख प्रकाशित गरेका छन् ।

चकलेट बढी खाने मानिसहरुको मानसिक चेतना तेज हुनसक्ने वा तेज मस्तिष्क हुनेहरुले आफ्नो स्वास्थ्यको महत्व बुझेर चकलेट बढी खाने गरेको हुनसक्ने डा. मेससेरलीको विचार मननयोग्य छ। चकलेट बढी खाने युरोपियन मुलुकहरु जस्तै स्विट्जरलेण्डले धेरै नोबेल पुरस्कार विजेताहरु दिन सके पनि यो चकलेट सेवनबाट सम्भव भएको अनुसन्धानमा आधारित नतिजाले पुष्टि गरेको छैन।

तर चकलेटमा पाइने तत्वहरुको असर उमेरसँग सम्बन्धित मानसिक चेतनाको नास (कगनेटिभ लस) हुनबाट बचाउन सक्ने वैज्ञानिकहरुको रिपोर्टले बताउँछ। मानिसको मस्तिष्क आकारमा सानो भए पनि यसले शरीरको करिब २० प्रतिशत अक्सिजन खपत गर्छ। यसका लागि मस्तिष्कमा प्रसस्त रक्तसञ्चार हुनुपर्छ। पोलिफेनोल भएका चकलेट खाने मानिसको मस्तिष्कमा रक्तसञ्चार सवल हुन सक्छ। स्वस्थ मस्तिष्क हुनेको स्मरणशक्ति पाको उमेरमा पनि सवल हुने गर्छ। त्यसैले बाठो मानिसहरुले समयमै उचितमात्रामा चकलेट सेवन गर्नु स्वास्थ्यकर हुनसक्छ।

चकलेट, उच्च–रक्तचाप र हृदय रोगहरु

कालो चकलेट (डार्क चकलेट) को उच्च–रक्तचाप र हृदय रोगहरुमा हुने असरका बारेमा धेरै चर्चा, अध्ययन, अनुसन्धानहरु भएका छन्। स्वेडनमा गरिएको एक अध्ययनअनुसार चकलेट सेवनबाट स्ट्रोक हुने सम्भावना कम हुन्छ। एक अर्को अध्ययनले पनि कालो चकलेट प्रसस्त खाने मानिसहरुमा उच्च–रक्तचापको समस्या कम हुने पुष्टि गर्छ।

चकलेटबारे यति धेरै वैज्ञानिक अनुसन्धानहरु भएका छन् कि गत सालको अन्तिमतिर पबमेड डेटाबेसमा उच्च–रक्तचापमात्र ५० भन्दा बढी वैज्ञानिक रिपोर्टहरु प्रकाशित भएको देखिन्छ। यसबाट उपभोक्तामात्र होइन, वैज्ञानिकहरुले पनि चकलेटको सेवन र जनस्वास्थ्यबारेमा धेरै चासो देखाएको प्रष्ट हुन्छ। वैज्ञानिकहरुको भनाइअनुसार कोकोमा पाइने क्याटाकिनस एन्टी–अक्सिडेन्टको रक्त–सञ्चार, हृदय अनि मस्तिष्कको कार्यलाई सकारात्मक बनाउन भूमिका हुन्छ।

कुन चकलेट कति फाइदाकारी?

के सबै चकलेटहरु उत्तिकै स्वस्थकर हुन्छन्?आज–भोलि बजारमा पाइने चकलेटहरुमा (कालो, मिल्क, र सेतो) गुलियो, चिल्लो अनि कोको पोलिफेनोलहरुको मात्रा फरक हुने हुँदा यिनीहरुबाट हामीले प्राप्त गर्ने लाभ पनि फरक–फरक हुनसक्छ। कालो चकलेटहरुमा मिल्क चकलेटभन्दा पोलिफेनोलहरुको मात्रा ज्यादा हुने भएकाले यो बढी स्वास्थ्यकर हुन्छ।

चकलेटमा पाइने चिल्लो पदार्थ कोको बटरबाट प्राप्त हुन्छ, जुन अस्वस्थकर मानिँदैन। तर, ज्यादै गुलियो स्वाद भएका चकलेटहरुको अधिक सेवनले मोटोपन बढाउन सक्छ। सारमा, चकलेट एक यस्तो मिठो खानेकुरा हो, जसमा हृदयदेखि मस्तिष्कसम्म सकारात्मक असर पार्ने तत्वहरु हुन्छन्। यसका लागि नियमित कम क्यालोरी भएका डार्क चकलेट खाने गर्नुपर्छ। त्यसैले केटा–केटीहरुले मात्र होइन, हामी सबैले हप्तामा आधा चकलेट बार नियमित खाने गरौँ, स्वस्थ अनि आनन्दित रहौँ।

(पिएचडी गरेका प्रसाईँ अमेरिकाको अलावामा विश्वविद्यालयमा सहायक प्राध्यापक छन्।)
setopati dot com बाट साभार

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment