Tuesday, June 10, 2014

हेल्लो सरकार हाम्रा कुरा सुनियोस्

जनताका गुनासा सुन्न खडा गरिएको हेलो सरकारमा गत वैशाख महिनामा ६६० वटा गुनासा प्राप्त भएको र त्यसमध्ये ४६९ वटाको निरुपण गरिएको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मगंलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार वैशाख महिनामा प्राप्त गुनासामध्ये ३५ हेलो सरकार कक्षले नै समाधान गरेको, ४८ वटालाई उच्च प्राथमिकता, ३६८ लाई प्राथमिकता र २६९ वटालाई साधारणमा वर्गीकरण गरी सम्बन्धित निकायहरूमा पठाइएको छ ।

सो अवधिमा विभिन्न विकास आयोजनामा ठेकेदारले गुणस्तरहीन काम गरिरहेको, शिक्षा मन्त्रालयले नियमविपरीत काज सरुवा गरेको, श्रम स्वीकृति दिने अधिकार ७५ वटै जिल्लामा प्रत्यायोजन नहुँदा जनताले दुःख पाएको, ठाउँठाउँमा सवारी साधनबाट अनधिकृतरुपमा पैसा असुली गरेको, सार्वजनिक स्थान र यातायातमा धूमपान पूर्णतः निषेध नभएको, चोरी शिकारी बढेकोलगायतका गुनासो प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए ।

यस्तै, विभिन्न जिल्लामा गाविस सचिवले सामाजिक सुरक्षा भत्ता नबाँडेको, ठाउँठाउँमा सडक भत्काएर राखिएको तर निर्माण पूरा नभएको, बाटोको छेउमा खुल्लारुपमा मासु बिक्री वितरण गरिएको, निजी विद्यालयले शुल्क बढाएको, बेरोजगार बस्नपरेको र बिना पूर्वाधार गाविसलाई नगरपालिकामा रुपान्तरण गरिए भन्ने गुनासो बढी मात्राम प्राप्त भएको सचिव बाँस्कोटाको भनाइ छ ।

हेलो सरकारमा स्थापना भएको अढाई वर्षको अवधिमा तीस हजार ३६७ वटा गुनासा प्राप्त भएकामा २९ हजार ४३५ गुनासाको समाधान भएको सो अवसरमा जानकारी दिइयो ।

अढाई वर्षको अवधिमा सबैभन्दा बढी गृह मन्त्रालयसँग सम्बन्धित चार हजार २६२ शिक्षामा तीन हजार ३४, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको एक हजार ७८९, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक हजार ६१३, वाणिज्य तथा आपूूर्ति मन्त्रालयको एक हजार १५६, अर्थ मन्त्रालयको एक हजार ११४, श्रम तथा रोजगार मन्त्रालयको एक हजार ८० र नेपाल विद्युत प्राधिकरणका ९३७ वटा गुनासा प्राप्त भएको थियो । -रासस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment