वर्ल्डकपमा वी आर वान को बिगबिगी Video सहित
विश्वकपको अघिल्लो संस्करणमा विश्विख्यात क्यानेडेली गायिका साकिराले गाएको 'वाका वाका दिस टाइम फर अफ्रिका' खेल एवं संगीतप्रेमीले अझै भुलेका छैनन्। दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित सकर सिटीमा भएको १९औँ विश्वकप उद्घाटन र समापन समारोहमा साकिराको रोमाञ्चक प्रस्तुतिले विश्वको ध्यान खिचेको थियो। विश्वकपको उक्त संस्करणमा खेलबाहेक साकिरा, सकर सिटी र नेल्सन मन्डेलाको बढी चर्चा भयो। साकिराको सांगीतिक प्रस्तुति, सकर सिटीको भव्यता र नेल्सन मन्डेलाको लोकप्रियताले विश्वकप विजेताकै हाराहारीमा उनीहरूको चर्चा भएको थियो।चार वर्षअघिको यो रोमाञ्चक क्षण धेरैको मानसपटलमा ताजै छ। तर, फेरि 'फिफा वर्ल्डकप'को नयाँ संस्करणले विश्वको ध्यान खिचिसकेको छ। विश्वकप एउटामात्रै यस्तो उत्सव हो जसले संसारको ध्यान खिच्नसक्ने सामर्थ्य राख्छ। खेलाडीप्रेमीमात्र होइन कलाकार, व्यवसायी, विद्यार्थी, राजनीतिज्ञदेखि किसानसम्मलाई विश्वकपको ज्वरोले छाड्दैन।
यसपटकको विश्वकपमा जेनिफर लोपेज, पिटबल र क्याउडिया लिटेले गाएको 'वी आर वान' (ओले ओले) बोलको गीत 'अफिसियल एन्थम'का रूपमा रहेको छ।
अंग्रेजी, पोर्चुगिज र स्पेनिस भाषामा रहेको यो गीत साकिराको 'वाका वाका'को उचाइमा पुग्ने हो कि होइन, त्यो त समयले तय गर्नेछ। तर, 'वाका वाका' सार्वजनिक भएपछि जुन रफ्तारमा विश्वभर फ्यान बढेको थियो त्यो रफ्तार चुम्न 'वी आर वान'लाई गाह्रो देखिएको छ। विश्वकपसँग जोडिएका दर्जनौं गीतको लोकप्रियताको शृंखलामा साकिराको 'वाका वाका' अहिलेसम्मकै नम्बर एकमा छ।
समयको दृष्टिले यसपटकको विश्वकप एसियाली मुलुकका लागि पायक छैन। तैपनि विश्वकपमा आफ्नो मन पर्ने टिम र खेलाडीको खेल हेर्न छुटाउने पक्षमा कोही छैनन्। अभिनेता भुवन केसी अर्जेन्टिनाको फ्यान हुन्। 'म अल टाइम अर्जेन्टिनाको पक्षधर हुँ। म्याराडोनाको ठूलो फ्यान भएकाले पहिलेदेखि नै अर्जेन्टिना मलाई मन पर्ने टिममा परेको हो', भुवनको भनाइ छ। उनको दोस्रो रोजाइमा पर्ने टिम भने ब्राजिल हो। 'विश्वमा फुटबलबाट चिनिएको देश, पेलेजस्ता महान् खेलाडी जन्माएको र सधैं राम्रो खेल्ने टिम भएकाले ब्राजिल मेरो दोस्रो रोजाइमा पर्छ', उनी प्रस्ट्याउँछन्।
नेपालको सन्दर्भमा कुरा गर्दा अधिकांश फुटबलप्रेमी अर्जेन्टिनाको पक्षमा देखिन्छन्। यसको आफ्नै कारण छ। नेपाल टेलिभिजनको स्थापना २०४२ सालमा भयो।
त्यसको एक वर्षपछि (सन् १९८६) मा भएको विश्वकप फुटबलमा डियागो म्याराडोनाको जादुमय खेलका कारण अर्जेन्टिनाले विश्वकप चुम्यो। संसारमा म्याराडोनाको चर्चा भयो। नेपाल त्यसबाट अछूतो रहने कुरै भएन। विश्वकपको त्यही संस्करणदेखि अधिकांश नेपाली अर्जेन्टिनाको पक्षमा उभिन थालेका हुन्।
यो कुरामा सहमत छन्, अभिनेता कृष्ण मल्ल। 'म सानैदेखि म्याराडोना र अर्जेन्टिनाको ठूलो फ्यान। अहिलेसम्म मन फेर्न सकेको छुइनँ। यसपालि पनि म अर्जेन्टिनाकै पक्षमा छु', मल्ल सुनाउँछन्, 'पेलेजस्ता लिजेन्ट प्लेयर र फुटबलबाटै चिनिएका कारण ब्राजिल मेरो दोस्रो रोजाइमा पर्ने टिम हो।'
अभिनेत्री करिश्मा मानन्धर पनि फुटबलप्रेमी कलाकारमा पर्छिन्। तर, यही टिमले जित्नुपर्छ भन्ने उनको चाहना छैन। 'विश्वकप फुटबल हेर्छु तर कुन टिमले जित्ने भन्ने कुरा खेल हेर्न थालेपछि मात्रै थाहा हुन्छ', करिश्माको भनाइ छ। उनलाई जुन टिम नयाँ छ र राम्रो खेल्छ उसैले जितोस् भन्ने लाग्छ।
अभिनेत्री ऋचा शर्मा भने जर्मनीको फ्यान हुन्। 'मैले वल्र्डकप हेर्न थालेदेखि नै जर्मनीको पक्षमा रहेँ', कारण खुलाउँदै उनी भन्छिन्, 'खासमा मेरो घरपरिवारमा दिदी जर्मनीको पक्षमा रहेकाले मलाई पनि त्यही प्रभाव परेको हुनसक्छ।' ऋचालाई मन पर्ने खेलाडी जर्मनीका पूर्वकप्तान माइकल बलाम हुन्।
अभिनेत्री आशिष्मा नकर्मी भने स्पेनको पक्षमा छिन्। भन्छिन्, 'मलाई स्पेनको खेलशैली मन पर्छ। त्यसैले यसपटकको विश्वकपमा पनि म स्पेनकै पक्षमा छु।' उनको दोस्रो रोजाइमा पर्छ ब्राजिल। फुटबलका बारेमा सुनेदेखि नै ब्राजिलको नाम सुनेको र रोनाल्डो मन पर्ने खेलाडी भएकाले ब्राजिल आफ्नो दोस्रो रोजाइमा पर्ने उनको भनाइ छ।
अभिनेता आर्यन सिग्देललाई भने खेलमा खासै रुचि छैन। तर, फुटबल हेरेर आनन्दचाहिँ लिने गर्छन्। 'मलाई फुटबलबारे रुचि छैन। त्यसैले कुन टिम, कुन खेलाडी केही थाहा हुँदैन', आर्यनको कथन छ, 'तर, समय मिल्यो भने खेल हेरेर इन्जोयचाहिँ गर्छु। खासमा मलाई चलचित्रबाहेक केही थाहा हुँदैन। बेलाबेला आयोजना हुने मैत्रीपूर्ण फुटबलमा सहभागी हुने गरेका नेपाली कलाकार पनि अहिले विश्वकपकै पर्खाइमा छन्।








0 comments:
Post a Comment