Friday, July 4, 2014

छोरी चाहिँदैन ? सबैको चाहना छोरा नै होस् भन्ने हुन्छ

विराटनगर, असार २० - 'छोरी नभए बुहारी कहाँबाट ल्याउने ? भ्रूण हत्या सामाजिक अपराध हो’ स्वास्थ्य संस्थाहरूका भित्तामा यो सन्देश देखिनु अहिले नौलो छैन ।

तर, छोराको मात्रै लालसा भएकाले गर्भमै छोरीको हत्या गरिरहेका छन् । गर्भ जाँच गराई लिंग पहिचान गरेपछि छोरीलाई जन्मनै नदिने चलनले सामाजिक असन्तुलन ल्याउने संकेत गरिररहेको छ ।

छोरामात्रै भएर सृष्टि चल्दैन भन्ने बुझेका नै छोरी गर्भबाटै बाहिर आउन नदिन उद्यत छन् । भीम घिमिरे, पर्वत पोर्तेल, प्रदीप मेन्याङ्बो, जितेन्द्र खड्गा, देवनारायण साह र लीलाबल्लभ घिमिरे लेख्छन्:

२४ फागुन ०७० अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पताल प्रसूति भवनको प्रवेशद्वारमै एक नवजात शिशुको शव भेटियो ।

प्लास्टिकको झोलाभित्रको शवलाई भुस्याहा कुकुरले घेरिरहेका थिए, जुन छोरीको थियो । घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताएको थियो । चार महिना बित्यो, कसले फालेको भन्ने खुलेको छैन ।

यो प्रतिनिधि घटनामात्रै हो । 'अंश खाने र बंश बढाउने' परम्परावादी सोचले छोरीलाई गर्भमै 'सफाया' गर्ने प्रवृत्ति बढ्दो छ । कानुनअनुसार भु्रण हत्या अपराध हो । तर, च्याउसरी खुलेका 'रेडियोलोजी' र एक्सरे क्लिनिक अनुगमन गर्ने संयन्त्र नभएकाले छोरी आए गर्भपतन गराउनेलाई प्रश्रय मिलेको छ ।

बिर्तामोडको एक निजी क्लिनिकमा पुगेका एक पुरुषले पत्नीको गर्भ परीक्षणपछि 'रेडियोलोजिस्ट' लाई के रहेछ भनेर खुसुक्क सोधे । रेडियोलोजिस्टले सांकेतिक उत्तर दिए, 'ठीकै छ ।' उनले आँखाको इशाराबाट काउन्टरमा जान अह्राए । भनेबमोजिमको रकम तिरेर ती पुरुष आए, गर्भपतन गराइयो । स्रोतका अनुसार भ्रूणको लिंगबारे बताउँदा सांकेतिक भाषा प्रयोग गरिन्छ, छोरा भए 'राम्रो' र छोरी भए 'ठीकै' भनेर । गर्भमा लिंग पहिचान गरेवापत क्लिनिकहरूले ३ देखि ५ हजारसम्म असुल्ने गरेको एक स्वास्थ्यकर्मीको दाबी छ ।

जिल्लाका मेचीनगर, दमक र भद्रपुर नगरपालिकाको तथ्यांकले पनि छोराका तुलनामा छोरी कम जन्मिएको देखाउँछन् । सबैमा गरी ०६७ यता १५ हजार १ सय ६ जनाको जन्मदर्ता भएको छ । जसमा, छोरीको संख्या छोराका तुलनामा आधा कम अर्थात् ७ हजार ६ सय ५६ मात्र छ । गत महिना असुरक्षित गर्भपतन गराउँदा झापाकी एक महिलाको ज्यान मुस्किलले बच्यो । उनले १६ साताको गर्भपतनका लागि एक मेडिकलबाट किनेको औषधि खाएकी थिइन् । त्यसका कारण अत्यधिक रक्तश्राव भएर सिकिस्त भइन् । परिवार नियोजन संघ झापाका प्रमुख चन्द्रमणि पौडेलले गर्भपतन गराउने औषधि जथाभावी बिक्रीवितरण हुँदा समस्या भएको बताए ।

बढ्दो गर्भपतन

भ्रूणको लिंग पत्ता लगाउन भारतको सुनौलीस्थित निजी क्लिनिकमा पुगेका इटहरीका एक दम्पतीले गर्भमा २० साताकी छोरी हुर्किंदै गरेको थाहा पाए । गर्भपतन गराउने निर्णय लिए, चिकित्सकले विकसित भइसकेको भ्रूण निकाल्न हातको प्रयोग गरे । सोही दिन घर फिरेका उनीहरूले पाठेघर, पिसाब थैली र आन्द्रामा समेत प्वाल परेको पछिमात्रै थाहा पाए ।

दुई दिनपछि पिसाब रोकिएन, रक्तश्राव हुन थाल्यो । सिकिस्त भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरियो । छोरी भएकै कारण भ्रूणहत्या गरेको अनुमानमा प्रतिष्ठानको प्रसूति विभागका चिकित्सकले कारवाहीका लागि प्रहरीलाई जानकारी दिने चेतावनी दिए । एक वर्षकी छोरी काखमा रहेकी, अस्थायी साधनले धोका दिएको र अनिच्छित गर्भ फाल्न खोज्दा आपत आइलागेको उनीहरूले बताए ।

चिकित्सकहरूका अनुसार सुरक्षित गर्भपतन ऐनमा 'परिवार नियोजनको गर्भ निरोधक साधन असफल भएमा' भन्ने संशोधित वाक्यले छोरी भए भ्रूण हत्या गर्नेहरूलाई प्रश्रय मिलेको छ । उक्त विषय प्रहरीसम्म हत्तपत्त पुग्दैन । त्यसैले यस्तो मुद्दा परेको र कारवाही भएका घटना प्रहरीको विवरण मै छैनन् । 'प्रहरीमा आइपुगे पो त्यस्तो मुद्दा चल्नु ! सूचना नआइदिँदा घर-घर पसेर केस खोज्न सम्भव पनि हुँदैन,' इलाका प्रहरी धरानका निरीक्षक मुकुन्द रिजालले भने । हुनपनि, पूर्वका जिल्लाहरूमा भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराएको आरोपमा कार्वाहीका घटना एउटा पनि छैनन् ।

'सुरक्षित गर्भपतन ऐन लागू भयो तर छोरीको भ्रूणहत्या रोक्न यसले पनि सकिरहेको छैन,' प्रतिष्ठानको प्रसूति विभागका डा. मोहनचन्द्र रेग्मीले भने । उनका अनुसार ऐनले मातृ मृत्युदरमा कमि ल्याउन सकेको छैन । भ्रूणहत्या गर्ने दम्पतिका कारण असुरक्षित गर्भपतन र त्यसका कारण ८ देखि १२ प्रतिशत आमाको मृत्यु हुने गरेको उनले जानकारी दिए । ४० प्रतिशत गर्भपतन भ्रूणहत्याकै उद्देश्यले हुने गरेको डा. रेग्मीको भनाइ छ । 'छोरी भएका कारण भ्रूणहत्या गर्ने प्रवृत्ति शिक्षित र सम्पन्न परिवार मै सबैभन्दा बढी रहेको विभिन्न सर्वेक्षण र तथ्यांकले देखाएका छन्,' उनले भने ।

मुलुकी ऐनको ज्यानसम्बन्धी महल २८(ग) मा १२ सातासम्मको गर्भ भए १ वर्ष, २५ साताको ३ वर्ष र त्यसभन्दा माथिको गर्भपतन गर्नेलाई ५ वर्षसम्म कैद व्यवस्था छ ।

यस्तै, गर्भपतन गर्ने/गराउने उद्देश्यले भु्रणको लिंग पहिचान गर्ने/गराउने दुवैलाई ३ देखि ६ महिनासम्म कैद, लिंगका आधारमा गर्भपतन गर्ने/गराउनेलाई हुने सजायमा थप एक वर्ष कैदको व्यवस्था रहेको अधिवक्ता दीपेन्द्र भट्टराईले बताए ।

मान्यताप्राप्त स्वास्थ्य संस्थाले महिलाको इच्छामा १२ सातासम्मको गर्भपतन गर्न पाउँछ । साधनस्रोत र दक्ष जनशक्ति भएको बीपी प्रतिष्ठान जस्ता अस्पतालमा १८ सातासम्मका गर्भपतन गरिन्छ ।

सामान्यतया १२ सातादेखि भ्रूणको लिंग अल्ट्रासाउन्ड र पाठेघरको पानी परिक्षण गरेर पत्ता लगाउन सकिन्छ । छोराको चाहना राख्ने दम्पतिले गोप्य रूपमा अन्यत्रै लिंग पहिचान गरेर छोरी भए मान्यताप्राप्त स्वास्थ्य संस्थाबाटै पनि गर्भपतन गराइरहेका छन् ।

विराटनगरबाट यात्रा सहज भएकाले भारत विहारका गोरखपुर, पुणिर्या र पटनासम्म पुगेर पनि दम्पतिले लिंग पहिचानपछि छोरी जन्मन नदिन उपाय अपनाउँछन् । त्यसको गतिलो प्रमाण विराटनगरका फर्टिलिटी क्लिनिकको साटो पूणिर्या र कटिहारका नर्सिङ होमले स्थानीय अखबारमा विज्ञापन छाप्न देखाउने रूची नै हो ।

प्रतिष्ठानमा भर्ना भएर चालु वर्ष ४ सय ५० ले र बहिरंग सेवामार्फत ३ सय ९० जनाले सुरक्षित गर्भपतन गराएका छन् । धरानस्थित नेपाल परिवार नियोजन संघकी इन्चार्ज विमला श्रेष्ठका अनुसार सन् २००७ यता ४ हजार २ सय २ जनाले मात्र सुरक्षित गर्भपतन गराएका छन् ।

इटहरीस्थित संघको कार्यालयमा त्यसको दोब्बर सुरक्षित गर्भपतन गराइएको छ । यसका लागि मान्यता पाएका संस्थाहरूमा धरानमा परिवार नियोजन संघ, बीपी प्रतिष्ठान र दन्तकाली पोलिक्लिनिक छन् भने इटहरीमा संघको शाखा र मेरीस्टोप्स क्लिनिक छन् । झापामा ०६८ यता २२ हजार ६ सय ७१ जनाले यसको सेवा लिएका छन् । चालु वर्षको जेठसम्ममा मात्रै ४ हजार ५ सय ३८ ले गर्भपतन गराएका छन् । मोरङमा यसका लागि १६ वटा पब्लिक हेल्थ सेन्टर र ३ वटा अस्पताललाई मात्र अनुमति छ । चालु वर्षको जेठसम्ममा कोशी अञ्चल अस्पतालमा १ सय १, मेरी स्टोप्समा ९ सय ६४ र परिवार नियोजन संघमा १ सय ९८ जनाले गर्भपतन गराएका

छन् । स्वास्थ्यकर्मीका अनुसार केही दम्पति नै र केही महिला पति विदेश गएका बेला अनिच्छित गर्भ रहेको भन्दै सेवा लिन आउँछन् ।

'हामी छोरा र छोरी भन्दा पनि पतनका लागि आवश्यक हो कि होइन भन्ने कुरालाई बढी प्राथमिकता दिन्छौं,' मेरी स्टोप्सका डा.जीपी भगतले भने । सुरूवाती चरणमा औषधि सेवनबाटै गर्भपतन हुने भए पनि ३ सातापछि भने शल्यक्रिया नै गर्नुपर्ने उनले बताए ।

सुरक्षित गर्भपतनका लागि आएको औषधिको प्रयोग जथाभावी हुन थालेको विराटनगरस्थित मोरङ सहकारी अस्पतालका डा. बालकृष्ण साह बताउँछन् । 'स्थिति भयावह छ,' डा. साहले भने, 'रक्तचापको औषधि मागे मेडिकलले सोधेर देला तर गर्भपतनका लागि जे उपलब्ध छ, त्यही नसोधी भिडाएको बिरामीहरू बताउँछन् ।' धेरैपल्ट अत्यधिक रक्तश्रावले सिकिस्त भएपछि ल्याइने महिलाको अवस्था बुझ्दा कहाली लाग्ने उनले बताए ।

मान्यताप्राप्त स्वास्थ्य संस्थामा पतन गराउनेहरूको संख्या बढेको देखिएपनि १२ साता कटेर छोरीको लिंग पहिचान गरी आउने दम्पतिको संख्या पनि उत्तिकै छ । चिकित्सकहरूका अनुसार ऐनमा उल्लेखित 'परिवार नियोजनको साधन असफल भएमा, जबर्जस्ति करणी र हाडनाता' शब्दको आडमा छोरीको भ्रूण पतन गराउने अभिभावकको संख्या सुषुप्त रूपमा बढ्दै गएको छ ।

छोरीको भ्रूणहत्या हुनुमा छोरा र छोरीलाई हेर्ने परम्परागत सामाजिक दृष्टिकोण, दर्शन र मनोविज्ञानले काम गरेको मनोवैज्ञानिक प्रवीण उपाध्याय बताउँछन् । उनको भनाईमा छोरीमात्र भए गाउँ, समाज र आफ्नै दाजुभाइले समेत हेप्ने, मरेपछि स्वर्गमा जान नपाइने, काजक्रिया र पिण्डतर्पण छोरीले नगर्ने मनोवैज्ञानिक त्रासले दम्पतिहरूले भ्रूणहत्या गर्ने गरेको देखिन्छ । 'गर्भमा छोरी भएका आधारमा भ्रूणहत्या गर्नेहरूलाई मानसिक समस्या हुन्छ । हीनताबोधी 'इन्फेरियर कम्प्लेक्स' ले ग्रस्त भएको कारणले यस्तो गर्छन्,' उनले भने ।

असुरक्षित सेवा

सरकारले मापदण्ड तोकेर गर्भपतनलाई मान्यता दिएपछि सुरक्षित भनिएको सेवा अहिले उदयपुरमा असुरक्षित र जोखिमपुर्ण बन्दै गएको छ । गर्भको अवधि र अवस्था जाँचै नगरी जथाभावी हुने गरेका कारण समस्या आएको हो ।

बजारमा सजिलै पाइने औषधिको प्रयोगमा जथाभावीले ग्रामिण क्षेत्रका महिलाको स्वास्थ्यमा जोखिम थपेको छ । ५ ट्याब्लेटको न्युनतम ३ सय ६६ रुपैयाँ पर्ने 'मेडावन' नामको औषधि ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीले ५ हजारभन्दा बढी लिएर गर्भपतन गराउँछन् । मेडावन सरकारले गर्भपतन गराउन सिफारिस गरेमध्येकै औषधि हो । सूचीकृत स्वास्थ्य संस्थालाई थोकमा मात्रै बिक्री गर्न पाइने यसको वितरणमा लापरवाही छ ।

त्यसबाहेक पिरनोटलगायत भारतीय कम्पनीका औषधि ग्रामीण क्षेत्रमा गर्भपतन गराउन प्रयोग हुन्छन् । सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुची र नेपालटारलगायत क्षेत्रमा यस्ता औषधिको प्रयोगबाट जथाभावी गर्भपतन हुने गरेको गुनासो आइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 'सरकारले सूचिकृत गरेका स्वास्थ्य संस्था र तालिम प्राप्त डाक्टरले मात्रै गराउनु पर्ने हो,' जिल्ला स्वास्थ्य प्रमुख डा. चुमनलाल दासले भने, 'तर, अदक्षले जथाभावी औषधि प्रयोग गरेर गराइरहेको पाइएको छ ।'

जिल्ला स्वास्थ्यको तथ्यांकमा चालु वर्षको बैशाखसम्म १ सय २९ जनाले सुरक्षित गर्भपतन गराएका छन् । 'त्यसभन्दा दुई गुणा बढी गाईघाट मै एक महिनामा गर्भपतन हुने गरेको छ,' सूर्योदय अस्पतालका निर्देशक दीपेन्द्रबहादुर कार्कीले भने ।

फस्टाएको व्यवसाय

लिंग पहिचानपछि गर्भपतन गराउने बढेपछि स्वास्थ्यकर्मीको कमाइ निकै बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. दयाशंकरलाल कर्ण कै क्लिनिकमा गर्भवतीको भीड लाग्छ । उनले भिडियो एक्सरे सेवा चलाएका छन् । परिवार नियोजन शाखामा कार्यरत वरिष्ठ अनमी तेजुकुमारी श्रेष्ठले गर्भपतनको काम गर्छिन् । कर्ण र श्रेष्ठ मध्यान्हदेखि नै निजी क्लिनिकमा व्यस्त हुने गरेको स्थानीय वीरेन्द्र यादवले बताए ।

लहानको रामकुमार शारडा उमाप्रसाद मुरारका अस्पतालका प्रमुख डा. मिश्रीलाल साहले पनि अस्पताल अगाडि नै आफ्नो क्लिनिक चलाएका छन् । जनरल फिजिसियन उनले पनि क्लिनिकमा भिडियो एक्सरे सञ्चालन गरेका छन् । भिडियो एक्सरे क्रममा छोराछोरीबारे बताइदिन हुने गरेका आग्रह टार्न नसकिने साहले बताए ।

मिर्चैया नर्सिङ होम र हेल्थ पोलिक्लिनिक प्रालिका सञ्चालक डा. वीरेन्द्रप्रसाद चौधरीलाई गर्भवतीको भिडियो एक्सरे गर्न भ्याइनभ्याइ हुन्छ । एमबीबीएस मात्रै गरेका उनले एमडी र स्त्रीरोग विशेषज्ञको बोर्ड झुण्ड्याएका छन् । त्यहाँ सिरहा, सप्तरी, उदयपुर, धनुषा र सिन्धुलीबाट महिला आउने गरेका छन् ।

 डा. चौधरीले गर्भपतन सेवा सञ्चालन अनुमति नपाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तर, चालु वर्षको बैशाखसम्ममा ६५ जनाको गर्भपतन गरेको तथ्यांक उक्त नर्सिङ होमले जिल्ला स्वास्थ्य कार्यालयमा पठाएको छ । उक्त नसिंङ होममा गर्भमा भएको शिशु पहिचान गर्न दैनिक १ सय २५ देखि २ सय जनासम्म आउने गरेको नामदर्ता रजिस्टरमा उल्लेख छ । छोरी देखिएका दैनिक सरदर २० जनाले गर्भपतन गराउने गरेको कार्यरतमध्येका एक स्वास्थ्यकर्मीले बताए ।

मिर्चैयास्थित आफ्नै घरमा अस्पताल चलाएका डा. बिष्णुकुमार साह र उनकी पत्नी डा. ललिताकुमारीलाई पनि भिडियो एक्सरे गर्न भ्याइनभ्याइ छ । ललिताले भिडियो एक्सरे गरेर इच्छुकको गर्भपतन गराउने गरेको सेवाग्राहीले बताए ।

 विष्णुले हाडजोर्नी र ललिताले एनेस्थेसियामा एमडी गरेको बोर्ड राखेका छन् । यहाँ आउने विरामीमध्ये ६० प्रतिशत गर्भवती महिला हुने गरेका छन् । 'महिला डाक्टर भएकाले भीड लागेको हो,' गर्भ जँचाउन आएकी सप्तरी रम्पुराकी रामरतिदेवी मण्डलले भनिन् । यहाँ छिमेकी जिल्लाबाट मात्र नभई सीमावर्ती बिहारबाट पनि दम्पति आउने गरेका छन् ।

गर्भपतन सेवा सञ्चालन गर्न संस्था र चिकित्सकले स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्ने व्यवस्था छ । तर, अनुमति लिएनलिएको अनुगमन नै हुँदैन ।

जिल्ला स्वास्थ्यका अनुसार चालु वर्षको बैशाखसम्ममा लहान अस्पतालमा १, सप्तऋषि अस्पताल लहानमा ९०, मिर्चैया नर्सिङ होममा ६५ र प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयामा ६ जनाले गर्भपतन सेवा लिएका छन् । लहानस्थित प|mेन्ड्स मोडल अस्पतालले सिरहाकी बबिता दासको २१ साताको गर्भपतन गराउने क्रममा पाठेघरमा प्वाल पर्‍यो । उनका पति प्रदीपले भने, 'डाक्टरले पाठेघर नै काटेर फालिदिएछन् । सिकिस्त भएपछि धरानको बीपी प्रतिष्ठानमा उपचार गराउँदैछु ।' प|mेन्ड्स गर्भपतनका लागि मान्यताप्राप्त संस्था होइन ।

छोरा नपाउँदा महिला पीडित

सिरहा नपा-९ का ६२ वषर्ीय रामऔतार यादवको छोरा पाउने आशमा ७ छोरी जन्मिए । जेठी पत्नीबाट ६ र कान्छीबाट एउटी छोरी भएपछि पनि उनलाई अझै छोराको आस छ । यस्तै, लगडिगदियानी-३ का भरोसी मण्डलकी पत्नी सलेनादेवीले ६ छोरी जन्माइन् । परिवारको आश घटेन, सातौंपल्टमा छोरा जन्मेपछि परिवारमा हुने छेडखानीबाट उनले राहत पाएकी छन् ।

'धेरै सन्तान देखिने सबै परिवारमा छोरा कै आशले संख्या बढेको हो, न रुढीवाद हट्छ न त महिलाको समस्या,' स्वास्थ्यकर्मी युनियन सिरहाका अध्यक्ष रामसेवक राय भन्छन् । उनका अनुसार गर्भपतन गराउनेहरू बढ्नुको कारण पनि छोराकै चाहना हो ।

सामाजिक प्रतिष्ठाका कारण नयाँ पुस्ताका दम्पतिले परिवारका अरूलाई थाहै नदिई भ्रूणको लिंग पहिचान गरेर सुटुक्क गर्भपतन गराउने चलन फस्टाएको छ ।

छोरी मात्रै भएका परिवारमा महिलाले खपिनसक्नुका अपमान बेहोर्नु पर्छ । लोग्ने, सासु, ससुरा, नन्द, देवरलगायत परिवारका सदस्यले गाली गरेको र कुटपिट गरेका घटनाका उजुरी प्रहरीसम्म पुग्दैनन् । धेरै घटना समाजमै मिलाइन्छ । बहुविवाह गरेपनि त्यसविरुद्ध महिला जाहेरी दिन अघि सर्दैनन् ।

सिरहाकी चमेली यादवलाई लोग्नेले सौता हालेपछि घर निकाला गरे । उनी अहिले सदरमुकाममा ज्यालादारी काम गरेर गुजारा चलाउँछिन् । 'बहुविवाहका दर्जनौं घटना छन् । पढेलेखेकै परिवारमा पनि महिला हिंसा सहेर बसेका छन् । डरले आफ्ना कुरा बाहिर भन्नै मान्दैनन्,' अधिकारकर्मी श्यामकुमारी साहले भनिन् ।


फेरिँदै मनोविज्ञान

राजविराजका सञ्चारकर्मी सुमन मिश्राका दुई छोरी मात्र छन् । 'छोरा-छोरीमा हामीलाई कुनै भिन्नता लाग्दैन,' उनले भने, 'छोरासरह छोरीले पनि सबैथोक गर्न सक्छन्, गरिरहेका छन् ।

हाम्रो मान्यता पनि यही छ । तर, समाजले यो बुझ्न निकै समय लाग्ने देख्छु ।' खासगरी मधेशी समाजमा छोरीभन्दा छोरालाई नै बढी मन पराउने चलन अहिले पनि कायमै छ । तर, छोरा र छोरीमा कुनै भिन्नता गर्न नहुने भनेर ठूला कुरा गर्नेमा मधेशी समुदाय नै विभेदमा अगाडि रहेको उनले बताए ।

मारवाडी समुदायले 'बुहारीका लागि छोरी आवश्यक' भन्दै सार्वजनिक स्थलहरूमा तुल टूगेका छन् । 'हाम्रो समुदायमा छोरीको संख्या कम भएकाले बिहेबारी मै समस्या हुन थालेको छ,' नागरिक समाज सप्तरीका अध्यक्ष एवं मारवाडी समुदायका अगुवा थानसिंह भन्सालीले भने ।

सप्तरीमै कतिपयले छोराकै लागि दोस्रो विवाह गरेका घटना पनि छन् । जेठी पत्नीबाट लगातार तीन छोरी भएपछि छोराको आशामा अर्को बिहे गरेको पाइनु नौलो छैन । भारदह-२ का ४० वर्षीय श्रीलाल मण्डलले ३ वर्षअघि छोराको आशमा अर्को बिहे गरे । जेठीबाट तीन छोरी भएका उनकी कान्छी पत्नीबाट पनि छोरी नै जन्मिएपछि छक्क परेका छन् ।

जनचेतनाको सहारा

चार वर्षअघि माहेश्वरी समाजले विराटनगरमा सर्वे गर्दा मारवाडी समुदायमा छोराका तुलनामा छोरीको संख्या निकै कम पाइएको थियो । त्यसपछि यहाँका स्वास्थ्य संस्थाका भित्तामा छोरी जोगाउनु पर्ने चेतनामुलक नारा लेख्ने क्रम सुरु भयो ।

मारवाडी, महेश्वरी, अग्रवाल, तेरापन्थ र ब्रामण्ड महिला मञ्चले 'बेटी बचाउ अभियान' प्राथमिकतामा राखेका छन् । सार्वजनिकस्थल तथा अस्पतालहरूमा यिनैले 'छोरी नभई बुहारी कहाँवाट ल्याउने ? भ्रुण हत्या सामाजिक अपराध हो' लेख्ने गरेका छन् । 'सबैको चाहना छोरा नै होस् भन्ने हुन्छ,' नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी अध्यक्ष रचना राठीले भनिन्, 'त्यसमा पनि हाम्रो समाजमा छोराको महत्त्व अझ बढी देखाउने चलन रहेकाले संयुक्त रूपमा अभियान थाल्नु परेको हो ।' सोचाइमा केही परिवर्तन ल्याउन सफल भएको दाबी उनले

गरिन् । घरमै मात्र बस्ने मारवाडी महिलाले विदेशसम्म गएर पढ्न, पति कै बराबरी व्यवसायमा हात बढाउन र सार्वजनिक कार्यक्रमहरूमा आफ्ना भनाई राख्न पाउने वातावरण बन्दै आउनुले छोरीको महत्त्व बढाएको उनले बताइन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment