सिद्धराज भट्ट, धनगढी, जेठ १४,
राजनीतिक परिवर्तनको फलस्वरूप देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको पाँचवर्ष पूरा हुन लाग्दा पनि व्यवस्था परिवर्तनका वास्तविक अनुभूति अझै हुन नसकेको भन्दै यहाँका सर्वसाधारणमा निराशा र अन्यौल बढ्दै गएको छ । ठूलो आसा भरोसा र विश्वासका साथ राजनीतिक परिवर्तनका लागि २०६२÷०६३ मा भएको आन्दोलनमा स्वस्फूर्तरूपमा लागेका सर्वसाधारण नयाँ परिवर्तनमा पनि गरिबी, अभाव, महङ्गी र अशान्ति जस्ता समस्या यथावत रहेकोमा निराश बनेका हुन् ।
व्यवस्था परिवर्तनले राजतन्त्र हटाएर जनका प्रतिनिधिबाट राष्ट्रपति छान्ने व्यवस्था गर्नु बाहेक अन्य कुनै उपलब्धि हुन नसकेको धारणा कैलाली बेलादेवीपुरका शिक्षक लेखराज ओझाको छ । ‘लोकतान्त्रिक गणतन्त्रलाई उत्तम व्यवस्था मानिए पनि यसको संस्थागत विकास गर्न भइरहेको ढिलाइ र दलहरूबीच देखिएको अविश्वास र असहमतिको कारण नै गणतन्त्र नेपालको नयाँ परिवर्तनमा पनि जनताले कुनै नयाँपन देख्न नसकेको हो,’ ओझाले भन्नुभयो ।
जेठ १५ गते गणतन्त्र दिवस मनाउने तयारी भइरहँदा विभिन्न पक्षबाट निरन्तरजसो भइरहेका बन्द, हडताल र प्रदर्शनबाट आजित भएका जनताले ‘गणतन्त्र बन्द र प्रदर्शनको व्यवस्था त होइन’ भन्ने महसुससमेत गर्न थालेका छन् । आ–आफ्नो अधिकारको सुनिश्चितताका लागि दबाबस्वरूप आवाज उठाउनु स्वाभाविक भए पनि निरन्तरका बन्द हडतालबाट जनमानसमा देखिएको निराशाले लोकतान्त्रिक गणतन्त्रप्रति पनि निराशा बढ्दै गएको २०६२÷२०६३ को आन्दोलनका घाइतेमध्येका प्रयाग जोशीले भन्नुभयो ।
पछिल्लो दुई दशकयता देशमा दुई ठूला परिवर्तन भए पनि ग्रामीण क्षेत्रमा दिनभरी नै काममा जोतिएर जीविका चलाउँदै आएका गरिब एवम् नमुखा वर्गको जीवनयापनमा गणतन्त्रपछि पनि खासै सुधार आउन सकेको छैन । ‘परिवर्तन पछिको समयमा जनताका जल्दाबल्दा समस्याहरू समाधान हुने आशामा थियौँ, खेती गर्दा देखिने मल, बीउ, पानीको समस्या अहिले पनि ज्यूँ का त्यूँ छ, उल्टै महँगी खपिनसक्नु हिसाबले बढेको छ,’ धनगढी कैलाली गाउँका कृषक गुलाब रानाले भन्नुभयो ।
एघार वर्षदेखि पुनःस्थापनाको पर्खाइमा बसेका धनगढीको पूरानो हवाइ मैदानमा रहेको अस्थायी शिविरका पूर्व कमैया राजमती चौधरी आफूहरूको गाँसवासको उचितरूपमा व्यवस्था नभएसम्म जस्तोसुकै व्यवस्था आए पनि त्यसले खास अर्थ नराख्ने बताउनुहुन्छ । रिक्सा चलाएर जीविका चलाउँदै आएका फूलबारी गाविसका सागर चौधरीले पछिल्लो चार हप्तादेखि जारी बन्दका कारण निर्वाधरूपमा रिक्सा चलाउन पाएका छैनन् । उहाँले गणतन्त्र प्रजातन्त्र केहो र कसका लागि हो भन्नेमा आफूहरू अझै बेखबर रहेको बताउनुभयो ।
विसं २०६२÷०६३ को जनआन्दोलनका बेला १९ दिनसम्म सडकमा नाराबाजी गर्दै भाग लिएका सन्तोष विक गणतन्त्रपछि पनि देशको अवस्था यस्तो अन्योलग्रस्त बन्ला भन्ने आफूले नसोचेको बताउँछन् । वर्षौदेखि शोषित पीडित र उत्पीडनको अवस्थाबाट उन्मुक्ति पाइने विश्वासका साथ आन्दोलनमा लागेका थियौँ, तर अहिलेको अवस्थाले सबैलाई निराश बनाएको छ, विकले भन्नुभयो । विगतको दशवर्षे सशस्त्र युद्धबाट सबैभन्दा बढी प्रभावित यस क्षेत्रका बासिन्दाले जनआन्दोलनमार्पmत स्थापित लोकतान्त्रिक गणतन्त्रपछि मुलुकमा शान्ति र विकासले फड्को मार्ने सपना देखेका थिए । तर गणतन्त्र स्थापनाको पाँच वर्ष बितिसक्दा पनि शान्ति र विकासका सवालमा खासै सुधार आउन नसकेको कतिपयको टिप्पणी छ ।
विकासका दृष्टिले अन्य क्षेत्रको तुलनामा निकै पछि परेको र पारिएको सुदूरपश्चिममा गणतन्त्र स्थापनापछि विकासले तीव्रता पाउने आशा गरिए पनि त्यो आशासमेत निराशामा परिणत भएको कैलाली अत्तरियाका मदनराज जोशी बताउनुहुन्छ । आफँैले छानेका प्रतिनिधिमार्फत जनताले शासन चलाउन पाउने सर्वोत्कृष्ट लोकतान्त्रिक व्यवस्था गणतन्त्र भए पनि यसको संस्थागत विकास गर्नुको साटो अन्यौल बढ्दै गएबाट गणतन्त्रको उपहास भएको कानुन व्यवसायी कृष्णदत्त कलौनीको भनाइ छ ।
देशलाई डो¥याउन खोज्ने नेताहरूको नियति सफा भएमा मात्र गणतन्त्रमा जनताको अधिकारको सुनिश्चितता भई सबैको हित हुने उहाँ बताउनुहुन्छ । लोकतान्त्रिक गणतन्त्रपछि जनतामा जागेको इच्छा, आकाङ्क्षामा कुठाराघात नगरी गरिब, निमुखा, मजदुर, किसानको हित हेरेमा मात्र लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ, उहाँ थप्नुहुन्छ । निरकुङ्श राजतन्त्रविरुद्ध लडेका तत्कालीन सात राजनीतिक दल र सशस्त्र युद्ध गरेको नेकपा (माओवादी)बीच भएको १२ बुँदे सहमति बमोजिम भएको दोस्रो जनआन्दोलनले नेपालमा गणतन्त्र स्थापना गरेको थियो ।
नेपालको इतिहासमै पहिलोपटक भएको संविधानसभाको निर्वाचनपछि गठन भएको संविधानसभाको पहिलो बैठकले २३७ वर्ष लामो राजतन्त्र अन्त्यको घोषणा गरेको थियो ।